केटाको भेष बनाएर स्कुल जान्थिन् नवनिर्वाचित उपमेयर स्यानी चौधरी
दाङको तुलसीपुर उपमहानगरपालिकाको उपमेयरमा स्यानी चौधरी निर्वाचित भएकी छन्। नेकपा एमालेकी उम्मेदवार चौधरीले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का जोगबहादुर राना मगरलाई पराजित गरिन्।
बुधबार दिउँसो सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार चौधरीले ३०५९७ मत ल्याइन् भने राना मगरले २१०६५ मत पाए।
तुलसीपुरको उपमेयर निर्वाचित हुँदा स्यानी चौधरी ५० वर्षकी भएकी छन्। उपमेयरसम्म आइपुग्न उनले ५० वर्षमा निकै उखाडबखाडपूर्ण यात्रा पार गरेकी छन्।
स्यानीले नेताहरूलाई तत्काल निर्णय दिन सकिनन्। म सोचेर जवाफ दिन्छु भनिन्। त्यसपछि भने स्यानीलाई हुन्छ भनौं कि हुन्न भनौं भयो। आफूले विश्वास गर्ने पत्रकारदेखि सामाजिक क्षेत्रमा काम गर्ने दिदी-बहिनीदेखि फरक पार्टीमा आस्था राख्ने केही नेताहरूको राय लिइन्। सबैले हरियो झन्डा देखाएपछि स्यानीले विश्वासका साथ ठूलो उडान भर्ने निर्णय गरिन्। उपमेयरको चुनाव लड्ने निधो गरिन्।
‘मकहाँ उपमेयरमा उम्मेदवार बन्नु पर्यो भनेर नेताहरू आएपछि निकै सकस भयो,’ स्यानीले भनिन्, ‘के गरूँ भने दुई रातसम्म निदाउन सकिनँ। मलाई निर्णय गर्न यत्ति गाह्रो जीवनमा कहिल्यै भएको थिएन।’
स्यानीमा ठूलो चिन्ताको विषय थियो- उपमेयरमा जितिहालें भने यी बालबालिकाको रेखदेख कस गरिदेला? स्यानीले चलाएको ‘दिदीघर’मा अहिले पनि बालबालिकाहरू सहारा लिएर बसेका छन्।
अर्कोतर्फ स्यानीका हातमा अमेरिकासहित अरू देशमा पनि जान-आउन मल्टिपल भिसा थियो।
‘सबैभन्दा चिन्ता भनेको राजनीतिमा लाग्दा मेरो नाम बदनाम हुने त हैन भन्ने थियो,’ स्यानीले भनिन्, ‘म त सफा मन चित्त भएर जनताको सेवा गर्न नै जाने हो। आरामको जिन्दगी जिउने/गाडी घोडा चढ्ने वा कमाउने कल्पना मेरो मानसपटलमा छँदै छैन।’
एमाले नेताहरूले स्यानीलाई उम्मेदवारी दिन जोड गर्नुका पछाडि केही स्पष्ट कारण थिए।
स्यानीले सामाजिक क्षेत्रमा काम गरेर राम्रो छवि बनाएकी थिइन्। स्यानीलाई टिकट दिँदा एमालेले दोहोरो फाइदा थियो। एकातिर उनी आममहिला थिइन् भने अर्कातिर थारू समुदायकी। तुलसीपुरमा थारूको समुदायको उल्लेख बसोबास छ।
उपमहानगरपालिकाले पनि पछिल्लो एक वर्षयता असहाय बालबालिका राख्ने जिम्मा स्यानीलाई नै दिएको छ।