चुनाव चिह्न नराखिएको भन्दै नमूना मतपत्रमा स्वतन्त्र उम्मेदवार धर्नामा
निर्वाचन आयोगले सार्वजनिक गरेको नमूना मतपत्रमा चुनाव चिह्न नै नराखिएको भन्दै जनकपुरधामका एकजना स्वतन्त्र उम्मेदवार मनोज साहले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार साह आफ्ना समर्थकसहित सोमबार धर्नामा बसेका हुन् ।
नेपाली कांग्रेस, जनकपुरधाम उपमहानगरपालिकाको सभापति पदबाट राजीनामा दिंदै साहले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
निर्वाचन आयोगले उनलाई घण्टाघर चुनाव चिह्न दिएको छ । तर, आयोगले सार्वजनिक गरेको धनुषाको नमूना पतपत्रमा त्यो चुनाव चिह्न छैन ।मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले धेरै स्वतन्त्र उम्मेदवारहरुको चुनाव चिह्न नमूना मतपत्रमा नदेखिएको बताए । उनले यस विषयमा आयोगलाई जानकारी गराइसकिएको बताए ।