जित पक्का भएपछि बालेनले भने – विजयी जुलस नगरौं, आफू रहेकै ठाउँमा धन्यवाद र्याली गरौं
काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन)ले निर्वाचनको परिणामलाई जितहारको रुपमा नहेर्न अपिल गरेका छन् ।
आफू निर्वाचित हुने सुनिश्चित भएपछि उनले फेसबुक पेजमार्फत एक वक्तव्य जारी गरी आफ्नो समर्थकहरूलाई विजय जुलुस नगर्न र त्यसकै नाममा विभिन्न जिल्लाबाट काठमाडौं नधाउन अपिल गरेका हुन् ।
उनले लेखेका छन्, ‘स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाण्डौँ महानगरको जिम्मेवारी बोक्न योग्य छौं भनेर महानगरका मतदाताहरूले हामीलाई विश्वास गर्नु भएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जीत वा हार हुँदैन ।’
निर्वाचित हुनेले अरु प्रतिस्पर्धीको तुलनामा ज्याद मत ल्याए पनि बहुमत नल्याएको भन्दै उनले आफूलाई मतदान नगर्नेहरुको भावनामा समेत चोट नपर्ने गरी काम गर्ने प्रतिवद्धता गरेका छन् । उनले महानगरको उन्नतिका लागि सबैसँग सहकार्यको आग्रह गरेका छन् ।
‘मेरो स्वयमको पनि बढीमा ३५ प्रतिशत मत आउला । यसको अर्थ हो, बदर मतहरू बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरुले अरुलाई छनौट गर्नु भएको छ’ वक्तव्यमा उनले भनेका छन्, ‘हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनु पर्छ ।’
ठाउँठाउँबाट विजय र्यालीका नाममा काठमाडौं आउने तयारी भएको सुनिएको भन्दै उनले काठमाडौं आउने ‘दुःख नगर्न’ आग्रह गरेका छन् । उनले भनेका छन्, ‘यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौँ ।’
उनले बरु आ-आफ्नो ठाँउबाट धन्यवाद र्याली गर्न आग्रह गरेका छन् । आफ्नो अभियानलाई उनले नेपालभरको अभियान बनाउन आग्रह गरेका छन् ।
निर्वाचित भएदेखि आफ्नो वास्तविक परीक्षा शुरु भएको भन्दै उनले आफ्नो कामकारबाहीलाई खवरदारी गर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘अबको हाम्रो पहिलो यात्रा काठमाडौको मुहार फेर्नलाई हुनेछ । मिलेर अगाडी बढौँ ।’