माओवादीसँग मिलेर कांग्रेसले उठाएको जोखिम
परापूर्वकालमा एक ज्ञानी महात्मा वनमा तपस्या गर्दथे । घरबार, श्रीसम्पत्ति, मायामोह सबै त्यागेर जगतको कल्याणका लागि महात्माले गरेको त्याग, तपस्या र पाएको ज्ञानको चारैतिर ठूलो महिमा थियो । एकदिन सरकारी मणि-माणिक्य, धनदौलत आदि लुटेर भागेका डाँकाहरू महात्माको कुटीमा छिरे । सरकारी गुप्तचर र सेना आदिबाट बच्न सबै दौलत कुटीमै छोडेर डाँकाहरू भागे ।
यसरी कुटीमा धन-दौलत भएको खबर छिमेकी गाउँको एक धूर्त फटाहाको कानमा पर्यो । त्यसै दिनदेखि त्यो धूर्त मानिस कुटीको दौलत हात पार्न अनेकन् दाउ हेरिरहन्थ्यो । कहिले महात्मालाई फकाउँथ्यो । कहिले धम्क्याउँथ्यो । महात्मा कहिल्यै हलचल भएनन् । एकदिन त्यो धूर्तले आफ्नी पत्नीलाई यो सबै बतायो । र, यो दौलत हडप्न नसकेकोमा निदहराम भएको बतायो ।