दुई जना पाइलट अनिवार्य अब हेलिकप्टर उडानमा पनि
नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरमा समेत अब दुई जना पाइलट रहनु पर्ने निर्णय गरेको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार अब साना हेलिकप्टर सबैमा दुई पाइलट राखेर मात्र उडाउन पाइने छ । यस्तो नियम १७ असार (१ जुलाई)देखि लागू हुने गरी निर्णय भएको उनले जानकारी दिए ।
अहिले हेलिकप्टरमा एक जना पाइलट रहेर उनले यात्रु बोक्ने गरी सञ्चालन भइरहेको छ । अब भने साना हेलिकप्टरमा समेत दुई जना पाइलट अनिवार्य राख्नु पर्ने निर्णय भएको कर्णले जानकारी दिए ।
नेपालको भौगौलिक अवस्थितिले साना जहाज र हेलिकप्टरहरुको दुर्घटना दर उच्च छ । सोहीकारण हवाई सुरक्षा अभिवृद्धि गर्न यस्तो निर्णय गरिएको उनले जानकारी दिए ।
नेपालमा अहिले हवाईजहाज र एमआई१७ मोडलका ठूला हेलिकप्टरमा मात्र दुई पाइलट अनिवार्य गरिएको थियो । अब भने साना हेलिकप्टरमा समेत दुई पाइलट अनिवार्य गरिएको हो ।