एमालेले केन्द्रमा कुनै दलसँग गठबन्धन गर्दैन : योगेश भट्टराई
पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले स्थानीय तहको निर्वाचनमा पार्टीले अन्य दलसँग गठबन्धन घोषणा नगर्ने बताएका छन् । तर आवश्यकताका आधारमा तल्लो तहका कमिटिको सिफारिसमा जिल्ला कमिटिको निर्णयबमोजिम गठबन्धन हुने उनले बताए ।
शुक्रबार धनगढीमा प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले भर्खरै सम्पन्न केन्द्रीय कमिटिको बैठकले समेत स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धमा कुनै निर्णय नलिएको र केन्द्रीय स्तरबाट गठबन्धनको घोषणासमेत नहुने स्पष्ट पारे ।
उनले अगामी निर्वाचनमा मुख्यगरी नेकपा एमाले र नेपाली काँग्रेसकाबीचमा प्रतिस्पर्धा हुने बताउँदै मुलुक विस्तारै बहुदलीय प्रणालीबाट दुई पार्टीबीचको प्रतिस्पर्धामा गइरहेको उल्लेख गरे ।
भट्टराइले अघिल्लो पटक देशका ४५ प्रतिशत स्थानीय तहमा नेकपा एमालेले विजयी हासिल गरेकोमा बैशाख ३० गते हुने निर्वाचनमा भने ६० प्रतिशत भन्दा बढि पालिकामा जित्ने दाबी समेत गरेका छन् ।
गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन नगर्न अनेक खालका दाउपेच गरेको भएपनि नेकपा एमाले, बुद्धिजिवी, पत्रकार र आम नागरिकको दबाबका कारण मिति घोषणा गर्न बाध्य भएको दाबी समेत भट्टराइको थियो ।