नेपाल-भारत जोड्ने १३२ केभी प्रसारण लाइनको ६० प्रतिशत काम सकियो
नेपाल र भारतको उत्तर प्रदेश जोड्ने मैनहिया-सम्पत्तिया १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइनको निर्माण ६० प्रतिशत सकिएको छ।
रुपन्देहीको मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण आगामी असारसम्ममा सक्ने लक्ष्य लिई धमाधम काम भइरहेको छ।
२८ किलोमिटर प्रसारण लाइनमा पर्ने ९६ वटा टावरमध्ये ४४ वटाको जग हालिएको छ। पाँच वटा टावर खडा गरिएको छ। प्रसारण लाइनमा पर्ने जग्गाको मुआब्जा निर्धारण भइसकेको छ। प्रसारण लाइनका उपकरणहरू आयोजनास्थलमा ल्याइसकिएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की, नेपाल विद्युत प्राधिकरणका सञ्चालकहरू, कार्यकारी निर्देशक,उपकार्यकारी निर्देशकसहितको टोलीले आयोजना निर्माणस्थलको अनुगमन भ्रमण गरेको छ। टोलीले नेपाल र भारतबीचको विद्युत व्यापारका लागि यो लाइन महत्वपूर्ण रहेकोले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापनलाई निर्देशन दिएको छ।
नेपाल र भारतबीचका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको २०७५माघमा पोखरामा सम्पन्न छैटौं बैठकले भारतको उत्तर प्रदेश र नेपालबीच न्यू नौतनुवा-मैनहिया १३२ केभी प्रसारण लाइन निर्माण गर्ने सहमति गरेको थियो। यसपछि २०७६कात्तिकमा भारतको बैङलोरमा सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौं बैठकले प्रसारण लाइनलाई न्यू नौतनुवा (सम्पत्तिया,भारत) सबस्टेसनमा जोड्ने निर्णय गरेको थियो।