चिनियाँ विदेश मन्त्री वाङ यी दिल्लीबाट काठमाडौं आउने
तीन दिने औपचारिक भ्रमणका लागि चिनियाँ विदेश मन्त्री वाङ यी शुक्रबार नेपाल आउँदै छन्।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा यीले द्वीपक्षीय औपचारिक वार्तासँगै महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने छन्।
चिनियाँ विदेश मन्त्री नेपाल आउनुभन्दा अघि भारतमा हुनेछन्। हिन्दुस्तान टाइम्सले उनी बिहीबार नयाँदिल्ली आइपुग्ने शुक्रबार त्यहीँबाट काठमाडौं आउने समाचार प्रकाशन गरेको छ।
भारत र चीन दुबै देशले वाङ यीको भ्रमणबारे औपचारिक जानकारी दिएका छैनन्। नयाँदिल्लीमा हुँदा वाङले भारतीय समकक्षी एस जयशंकरसँग भेट्ने तय भएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको भेट हुने/नहुने टुंगो भएको छैन। २०७७ असारमा गल्वानमा चिनियाँ र भारतीय सैनिकबीच झडप भएको थियो। उक्त झडपमा २० भारतीय र ४ चिनियाँ सैनिक मारिएका थिए। त्यसपछि यी दुबै देशबीच सीमामा तनाव जारी छ। सीमामा तनाव जारी भएका बेला दुबै देशबाट राजनीतिक भ्रमणहरू भएका थिएनन्। गल्वान भीडन्तपछि पहिलो पटक चिनियाँ विदेश मन्त्री दिल्ली आउन लागेका हुन्। यसअघि भारतीय प्रधानमन्त्री मोदीले चीनमा सोमबार भएको चाइना इस्टर्न एयरलाइन्सको जहाज दुर्घटनामा दु:ख व्यक्त गरेका थिए।
विदेशमन्त्री वाङ यीको भ्रमणले दुई देशको सम्बन्ध सामान्य बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।