देउवा र कोइरालाबीच भातृ संस्थामा नेतृत्व दिनेलगायत विषयमा छलफल
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच पार्टीका भातृ संस्थालाई नेतृत्व दिनेलगायत विषयमा छलफल भएको छ।
आज बिहान कोइरालाले सभापति देउवासँग टेलिफोनमा कुराकानी गरेका हुन्। कांग्रेसमा नेविसंघ, तरूण दल, महिला संघलगायत ५ भातृ संस्था नेतृत्वविहीन छ भने नेपाल दलित संघको महाधिवेशन तय भए पनि अनिश्चितकालका लागि स्थगित भएको छ।
कुराकानीका क्रममा नेतृत्वविहीन रहेका भातृ संस्थालाई छिट्टै नेतृत्व प्रदान गर्ने र त्यसबारे सहमतिसाथ नै अगाडि बढ्ने कुराकानी भएको छ।
गत मंसिरमा भएको कांग्रेस महाधिवेशनमा सभापति पदमा देउवा र कोइराला प्रतिस्पर्धामा उत्रिएका थिए। सभापति जितेपछि देउवाले कोइरालासँग संवाद नगरेको भन्दै आलोचना भइरहेको थियो।
सभापति जितेपछि देउवा र कोइरालाबीच एकपटक भौतिक उपस्थितिमै कुराकानी र पटकपटक टेलिफोनमा कुराकानी भइरहेका छन्।