एमसिसीलाई देशको हितमा कुठाराघात नहुने गरी अघि बढाउन चाहन्छौं: माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसिसीलाई देशको हितमा कुठाराघात नहुने गरी अघि बढाउन चाहेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमसिसीका कारण नेपाललाई रणभूमि बनाउने पक्षमा आफूहरू नरहेको बताएका हुन्। उनले यस विषयमा फैलिएका आशंकाहरू बुझ्न चाहिरहेको बताए। नेपालले सबै राष्ट्रहरूसँग मित्रताको भाव राख्न चाहेको र कसैसँग पनि कटुता राख्न नचाहेको बताए।
नेपालले आफ्नो पार्टीको वैधानिकताबारे पनि प्रश्न उठाए सह्य नहुने बताएका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले एकीकृत समाजवादीको वैधानिकतामा प्रश्न उठाउँदै दायर गरेको मुद्दा अदालतमा विचाराधीन छ। नेपालले आफ्नो पार्टीले कानुनी रूपमा वैधानिकता पाएको र आफूहरूलाई सांसदको रूपमा स्वीकार गर्ने आधारहरू बनेको बताए। अगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा पनि गठबन्धन मिलेर जाने उनले बताए।