काँग्रेस प्रदेश महाधिवेशन : सुदुरपश्चिम र गण्डकीमा मतदान शुरु, अन्य प्रदेशमा ढिलाई
नेपाली काँग्रेसको नयाँ नेतृत्व चयन गर्न प्रदेश महाधिवेशन जारी छ । केही प्रदेशमा प्राविधिक कारणले केही ढिलाई भएपनि सुदुरपश्चिम र गण्डकीमा भने मतदान सुरु भइसकेको छ ।
यतिबेला गण्डकी र सुदूरपश्चिम प्रदेशमा मतदान चलिरहेको छ । यी प्रदेशहरुमा बिहान ९ः५६ देखि नै मतदान भएको हो । यो समाचार तयार पार्दासम्म गण्डकी र सुदुरपश्चिममा झण्डै ४ सयले मतदान गरिसेकेका छन् ।
एक हजार १६ मतदाता रहेको सुदुरपश्चिममा संस्थापनपक्षका वीरबहादुर बलायर र इतर पक्षका नारायणदत्त मिश्रको प्यानल प्रतिस्पर्धामा रहेको छ । यता गण्डकीमा भने हालसम्म करिब ४ सयको हारहारीमै मत खसेको बताइएको छ । गण्डकीको सभपतिमा संस्थापन पक्षका अर्जुनप्रसाद जोशी र इतर पक्षका शुक्रराज शर्मा नेतृत्वको प्यानल प्रतिस्पर्धामा रहेको छ । यहाँ एक हजार १५३ मतदाता रहेका छन् ।
त्यस्तै कर्णाली प्रदेशमा भने मतदान हुन सकेको छैन । अबको केही समयपछि मात्रै मतदान हुने भएपनि मतदाताहरु भने लाईनमा बसिरहेका छन। यहाँ मतपत्र नै प्रकाशन नभएकाले मतदानमा केही ढिलाई हुने बताइएको छ ।
प्रदेश १ मा पनि मतदान हुन सकिरहेको छैन । यद्यपि मतदाताहरु भने लाइनमा बसिरहेको बताइएको छ । यता बाग्मतीमा पनि निर्धारित समयमा मतदान हुन सकेको छैन ।
बाग्मतीमा विद्युत अवरुद्ध भएका कारण मतदान हुन नसकेको बताइएको छ ।