भीम रावलले किन वडा अधिवेशन भएको छैन भन्नुभयो, म सोध्छु : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका जिल्लामा पनि पार्टीले वडा अधिवेशन गरेको बताएका छन्।
उपाध्यक्ष भीम रावलले सुदूरपश्चिमका कुनै पनि जिल्लामा वडा अधिवेशन भएको जानकारी नआएको बताएपछि प्रतिक्रिया दिँदै ओलीले अधिवेशनहरू भइरहेको बताए।
एमालेले कात्तिक ६ गते वडा अधिवेशन राखेको थियो।
छ हजारभन्दा बढी वडामा अधिवेशन सकिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए पनि रावलले भने सुदूरपश्चिममा वडा अधिवेशन भएको जानकारी नआएको बताएका थिए।
सुदूरपश्चिममा वडा अधिवेशन नै नभएको भन्ने रावलको भनाइबारे आज मोरङमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले अधिवेशन भएको बताए।
‘उहाँ (भीम रावल) ले किन त्यस्तो भन्नुभयो, म काठमाडौं गएर सोध्छु,’ ओलीले भने।
सेतोपाटीसँग कुराकानी गर्दै उपाध्यक्ष रावलले सोमबार सुदूरपश्चिमका कुनै पनि जिल्लाका वडामा अधिवेशन नभएको बताएका थिए। तर कार्यालय सचिव तामाङले भने छ हजारभन्दा बढी वडामा अधिवेशन भइसकेको बताएका थिए।
एमालेले आज पालिका अधिवेशन गर्दैछ।