कांग्रेसले सांसद नरहेका गजेन्द्र हमाललाई मन्त्री बनायो
प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद विस्तार गर्न लागेका छन्।
प्रधानमन्त्री देउवाले आज नेपाली कांग्रेसबाट पाँच जना नयाँ मन्त्री बनाउन लागेका हुन्। तीमध्ये एक हुन्- नेपालगञ्जका कांग्रेस नेता गजेन्द्र हमाल। उनी प्रतिनिधि सभा सांसद छैनन्। सांसद नरहेका हमाललाई प्रधानमन्त्री देउवाले मन्त्री बनाउन लागेका हुन्।
संविधानको व्यवस्थाअनुसार सांसद नरहेको व्यक्ति छ महिनासम्म मन्त्री हुन पाउँछ।
‘मन्त्री हुनेहरूको नाम राष्ट्रपति कार्यालय पठाइसकिएको छ, आजै सपथग्रहण हुन्छ,’ स्रोतले भन्यो, ‘गजेन्द्र हमाल पनि मन्त्री हुँदै हुनुहुन्छ।’
यसअघि हमाललाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको कोटामा मन्त्री बनाउन लागेको चर्चा चलेको थियो। प्रधानन्यायाधीश राणाका नातेदार हमाल कांग्रेसको राजनीतिमा पनि छन्।
हमाल परिवार बाँकेबाट कांग्रेसको राजनीतिमा सक्रिय छ। गजेन्द्र २०५३ देखि ५६ सालसम्म बाँके जिल्ला कांग्रेस सभापति थिए।उनका भाइ सुरेन्द्र हमाल पनि लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य छन्
उनलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको स्रोतको भनाइ छ।