भावी रणनीति बनाउन विप्लव समूहको केन्द्रीय बैठक बन्दीपुरमा
सरकारसँग तीनबुँदे सहमति गर्दै सार्वजनिक भएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ६ महीना अन्योलमा रह्यो । तीनबुँदे कार्यान्वयन गर्ने जिम्मा लिएका प्रधानमन्त्री केपी शर्मा ओली आफैं संसद विघटनमा लागे र सरकारबाट बाहिरिए ।
सरकार परिवर्तन भएपछि विप्लव समूहले सबै राजनीतिक दलका नेताहरुसँग भेट गर्याे , सहमति कार्यान्वयनमा जोड दियो । तर त्यसअनुसार प्रगति नभएपछि तीनबुँदे सम्झौता गर्दै खुला राजनीतिमा फर्किंदाको समीक्षा, अहिलेको राजनीतिक अवस्थाबारे विमर्श र भावी रणनीति बनाउने भएको छ ।
यसका लागि नेकपाको ११औं केन्द्रीय कमिटी बैठक तनहुँको बन्दीपुरमा शुक्रबारदेखि शुरु हुँदैछ । खुला राजनीतिमा फर्केपछि बन्दीपुरमा पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठकमा महासचिव विप्लवले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।
‘बन्दीपुरमा शुरु हुने बैठक झण्डै एक हप्ता चल्छ, बैठकमा राजनीतिक र सांगठनिक प्रस्ताव पेश हुन्छ’, पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले भने, ‘विशेषगरी यो बैठकमा सरकारसँग भएको सम्झौता र त्यसको कार्यान्वयनबारे छलफल हुन्छ । अहिलेको राजनीतिक परिस्थिति र अबको रणनीति तयार गर्छौं । देशको मूलभूत विषयमा पार्टीको आधिकारिक धारणा तय गर्छौं ।’
सरकारले पक्राउ गरेका नेता कार्यकर्ता छोडिदिने, प्रतिबन्ध खारेज गर्ने, विप्लवले हतियारको कुरै नगर्ने, शान्तिपूर्ण राजनीतिमा आउने लगायत तीनबुँदे सहमति गरेको थियो । केपी ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ लगाएको प्रतिबन्ध फुकुवा गर्दै तीनबुँदे सहमतिपछि २१ फागुनमा नेकपालाई शान्तिपूर्ण राजनीतिमा फर्काएको थियो ।