१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक आएको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयक’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ राष्ट्रियसभामा दर्ताका लागि पठाइएको हो । बिहीबार दुई वटा विधेयक आएको र दर्ता प्रक्रियामा रहेको राष्ट्रियसभाको विधेयक शाखाले जनाएको छ ।
यसअघि यी दुबै विधेयक अध्यादेशका रुपमा आएका थिए । तर, संसदमा पेश भएको ६० दिन भित्र प्रतिस्थापन विधेयक नल्याएका कारण अध्यादेश निष्क्रिय भयो । अध्यादेश निष्क्रिय भएकै दिन सरकारले विधेयक ल्याएको हो ।
पछिल्लो १४ महिनामा कुनै पनि विधेयक संघीय संसदमा पुगेको थिएन । पछिल्लो समय राष्ट्रिय सभामा ३ असार २०७७ मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक दर्ता गरेको थियो । यस्तै, प्रतिनिधिसभामा दर्ता भएको पछिल्लो विधेयक हो– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ लाई संशोधन गर्न बनेको विधेयक । यो विधेयक १४ असार २०७७ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गरेको थियो ।
राष्ट्रियसभामा हाल १७ वटा र प्रतिनिधिसभामा ३२ वटा विधेयक विचाराधीन अवस्थामा छन् ।