कारबाही रोक्न माग गर्दै माधव पक्षीय सांसदहरू संसद सचिवालयमा
अवैधानिक रूपमा कारबाही गरिएको भनि पठाएको पत्रमा कुनै कारबाही नगर्ने व्यवस्था मिलाई पाऊँ भन्दै नेकपा एमालेका १४ जना प्रतिनिधिसभा सदस्यले लिखित निवेदन दिएका छन्।
आफूहरूमाथिको निष्कासन र सांसदबाट पदमुक्त गर्ने पार्टीको निर्णय कार्यान्वयन नगर्न माग गर्दै माधव नेपाल संसद सचिवालयलाई पत्र पठाएका हुन्। अर्याल होटलमा बसेको अनौपचारिक बैठकपछि नेपालसहित १४ जना आफूहरूमाथिको कारबाही गैरकानूनी र पार्टीको विधानविपरीत रहेको लिखित दाबी गरेका हुन्।
भदौ १ गते नेकपा एमाले संघीय संसदिय दलको कार्यालयले संघीय संसद सचिवालयलाई लेखेको पत्र अवैधानिक र दुराशयपूर्ण रहेकाले सो पत्रको आधारमा कुनै कारबाही अगाडि नबढाउन, सूचना प्रकाशित नगर्न र निर्वाचन आयोगमा जानकारी नगराउन उनीहरूले अनुरोध गरेका छन्।