बूढानिलकण्ठमा पौडेल र सिटौलासँग छलफल गर्दै देउवा
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग आज छलफल गर्ने भएका छन्।
बुधबार दिउँसो २:३० बजे सभापति देउवाको निजी निवास बूढानिलकण्ठमा पौडेल र सिटौलासँग सभापति देउवाले छलफल गर्ने कार्यक्रम तय भएको छ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले शीर्ष नेताहरूसँग छलफल गर्न लागेको जानकारी दिए। क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान गर्ने जिम्मा शीर्ष नेताले लिए पनि विवाद टुंगिएको छैन।
केन्द्रीय समिति बैठक बस्नु एक दिनअघि देउवाले पौडेल र सिटौलासँग कुराकानी गर्न लागेका छन्। कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ।
करिब एक सय वडामा क्रियाशील सदस्यता विवाद छ।
केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले विवाद समाधान गर्न नसकेका वडाका विवाद शीर्ष नेताले छलफल गरी किनारा लगाउने भने पनि अहिलेसम्म विवाद मिलेका छैनन्। कांग्रेसले भदौ १६ देखि १९ सम्म १४ औं महाधिवेशन गर्ने भने पनि तल्ला तहका अधिवेशन प्रभावित भइसकेका छन्। केन्द्रीय समिति बैठकले अब नयाँ कार्यतालिका ल्याउने सम्भावना छ।
पौडेल पक्षले क्रियाशीलबारे विवाद समाधान गरेर मात्रै नयाँ कार्यतालिका ल्याउनुपर्ने बताइरहेका छन्। सभापति देउवाले महाधिवेशन केन्द्रित छलफल गर्न आज शीर्ष नेतालाई बोलाएका हुन्।