भदौ १८ मै वडा अधिवेशन गरेपछि पार्टी वैधानिकतामा प्रश्न उठ्दैन: रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौ १८ गते वडा अधिवेशन गरेपछि पार्टी वैधानिकताबारे समस्या नआउने बताएका छन्। कांग्रेसले छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने कार्यतालिका ल्याएको छ।
तर कांग्रेसको विधान र संविधानको व्यवस्थाअनुसार सभापति शेरबहादुर देउवाको कार्यकाल भदौ २३ गतेसम्म मात्रै छ। चार वर्ष नियमित कार्यकाल सकेपछि सभापति देउवाले विधानअनुसार एक वर्ष र संविधानअनुसार थप छ महिना गरी कूल पाँच वर्ष छ महिनाको कार्यकाल पुर्याएका थिए, जुन भदौ २३ गते सकिँदैछ।
यसअघि वरिष्ठ नेता पौडेलले नै पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा आफूपक्षका नेताहरूसँग बैठक गरेपछि भदौ २३ पछि अहिलेको कार्यसमिति नरहने अभिव्यक्ति दिएका थिए। तर शनिबार वरिष्ठ नेता पौडेलसहितको सहमतिमा कांग्रेसको १४ औं महाधिवेशनका लागि नयाँ कार्यतालिका केन्द्रीय समिति बैठकले ल्याएको छ, मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने भनेर।
यसअघि भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशनलाई कांग्रेसले अब तीन महिना पर धकेलेको छ।
केन्द्रीय समिति बैठक चलिरहेका बेला करिब एक घन्टासम्म चलेको पदाधिकारी बैठकले नयाँ कार्यतालिका ल्याउन सहमति जनाएको थियो। उक्त कार्यतालिका केन्द्रीय समितिमा पेश गरेपछि सर्वसहमतिले पारितसमेत भएको छ।
तर कांग्रेसले विधान र संविधानलाईसमेत चुनौती दिने गरी महाधिवेशन पर धकेलेकोमा आलोचना पनि भइरहेका छन्। समयमै महाधिवेशन गर्न नसकेमा कांग्रेसले निर्वाचन आयोगलाई जरिमानासमेत तिर्नुपर्ने कुरा पनि उठिरहेका छन्।