रानीमहललाई ‘हेरिटेज होटल’ बनाउने प्रस्ताव
नेपाल पर्यटन बोर्डले पाल्पाको रानीमहललाई हेरिटेज होटेल बनाउने प्रस्ताव सार्वजनिक गरेको छ। प्रस्ताव छलफलमै रहिरहँदा पाल्पाली एवं संस्कृतिविद्ले विरोध गरेका छन्। रानीमहललाई पुरातात्त्विक रूपमा विकास गरी पर्यटकीय क्षेत्र बनाउनुपर्ने उनीहरूको माग छ। पर्यटन क्षेत्रमा विविधीकरण खोज्ने र भारतीय पर्यटक भित्त्याउने बहानामा बोर्डका प्रमुख कायर्कारी अधिकृत डा.धनञ्जय रेग्मीले रानीमहल दरबारमा हेरिटेज होटलमार्फत नवजोडीको लागि हनिमुन गन्तव्य बनाउने प्रस्ताव ल्याएका छन्। यो प्रस्तावको पाल्पाका सर्वसाधारणदेखि उच्च व्यक्तिले विरोध गरेका छन्।
बोर्डले ३० करोड रुपैयाँमा होटलसहित कालीगण्डकीमा पर्यटकीय संरचना निर्माण गर्ने प्रस्ताव सारेपछि होटल एसोसिएसन अफ नेपाल (हान)ले रानीमहल दरबारभित्र होटल सञ्चालन गर्नु नहुने भन्दै विरोध जनाएको छ। रानीमहल दरबार राणा खड्ग शमशेरले प्यारी रानी तेजकुमारीको सम्झनामा पाँच वर्ष लगाएर निर्माण गरेका थिए। राणा खड्ग शमशेरले प्रेमको प्रतीक रानीमहल वि.स. १९४९ देखि निर्माण सुरु गरी १९५४ मा पूरा गरेका थिए। कालीगण्डकीको जगबाट उठाई २४ रोपनी क्षेत्रफलमा फैलिएको रानीमहलमा २४ वटा कोठा, दुई वटा पोखरी, मन्दिर बगैंचा र पाटी, घोडातबेलासहितका संरचना छन्।
नेपाली कांग्रेस पाल्पाका सभापति एवं प्रदेश सांसद वीरबहादुर रानाले रानीमहल दरबारमा कुनैपनि हालतमा होटल राख्न नहुने बताए। ‘अहिले जताततै सच्चा प्रेम टुटेको छ, प्रेमको प्रतीक झल्किने, रानीमहल पुगेपछि प्रेम भावना आउने गरी ऐतिहासिक पुरातात्त्विक महत्त्व झल्किने गरी संरक्षण गर्नुपर्छ’, उनले भने।।
नेकपाका जिल्ला अध्यक्ष एवं प्रदेश सांसद नारायण आचार्यले रानीमहल दरबारलाई होटलका रूपमा प्रयोग गर्दा सानो पक्षलाई फाइदा भए पनि समग्र जनताको हितमा नहुने बताए। ऐतिहासिक पुरातात्त्विक महत्त्वको रानीमहल विकास तथा प्रयोगको बारेमा स्थानीयसँग छलफल गरेर मात्र टुंगोमा पुग्नुपर्ने जिल्ला उनले बताए।
पुरातत्त्व विभागले रानीमहल दरबारलाई स्थानीय स्तरमा संरक्षण गर्न १० वर्षका लागि तानसेन नगरपालिकालाई जिम्मेवारी दिएको छ। विगत दुई वर्षदेखि तानसेन नगरपालिकाले रानीमहल दरबारको रेखदेख गर्दै आएको छ। सदरमुकाम तानसेनदेखि १३ किलोमिटर उत्तरमा रहेको दरबारसम्म लुम्बिनी प्रदेश सरकारले सडक पिचको काम गर्दै आएको छ।
संस्कृतिविद् निर्मल श्रेष्ठ रानीमहल दरबारमा होटल सञ्चालन गर्दा पुरातत्त्व, ऐतिहासिकता, अपनत्व सबै हराउने चिन्ता गरे। सरकारले संरक्षणका लागि स्वामित्व लिएर काम गर्नुपर्ने उनको भनाइ छ। ‘पाल्पामा भोलिका दिनमा राणाकालीन सबै दरबार, पाल्पा दरबार, त्रिभुवन बहुमुखी क्याम्पस, अर्गली दरबारमा होटल चलाउने प्रस्ताव आएमा के गर्ने ? यस्ता संरचनाको संरक्षण तथा प्रवद्र्धनमा पूर्णसरकारी लगानी हुनुपर्छ, संस्कृतिविद् श्रेष्ठले भने। देशकै पहिचान बनेको रानीमहल दरबारको विकास तथा संरक्षणमा राज्य नै पन्छिनु गैरजिम्मेवार भएको उनको भनाइ छ।