उदयपुरका ४७ वडाध्यक्षमध्ये ३७ जना प्रचण्ड-माधव समूहमा खुले
(उदयपुर) केन्द्रका अधिकांश कमिटीमा चरम अल्पमतमा परेर संसद् विघटनको कदम चालेका प्रधानमन्त्री केपी शर्मा ओली पक्ष उदयपुरको पार्टी कमिटीमा नभई स्थानीय तहमा कमजोर देखिएको छ ।
कानुनी रूपमा नेकपा हालसम्म एकै रहे पनि राजनीतिक गतिविधि र व्यावहारिक हिसाबले मुलुकको सबैभन्दा ठूलो दल विभाजित भइसकेको छ । देशैभरि समूहगत भेला र आरोप–प्रत्यारोपको जुहारी चलिरहेको छ । यस्तो बेलामा नेपालको वाम आन्दोलनको उद्गमथलो मध्येको एक उदयपुरमा केन्द्र, प्रदेश, जिल्ला र गाउँपालिका र नगरपालिका मात्र नभई स्थानीय तहका प्रमुख र उपप्रमुख सहित वडाध्यक्ष समेत ओली पक्ष ज्यादै कमजोर देखिएको छ ।
जिल्ला समन्वय समिति संयोजक खड्ग बहादुर दर्लान ओली समूहका हुन भने सह संयोजक गंगा राई प्रचण्ड-माधव समूहका हुन् । जिल्लाका ८ स्थानीय तहमध्ये ५ पालिका प्रमुख प्रचण्ड नेपाल पक्षमा छन भने दुई पालिका प्रमुख ओली पक्षमा छन् ।
यस्तै जिल्लाका ७५ वडामध्ये ४७ वटा वडामा नेकपा विजय भएका थिए । तत्कालिन नेकपा माओवादी केन्द्रबाट १८ जना र तत्कालिन नेकपा एमालेबाट २९ जना वडाध्यक्ष विजय भएका थिए । जसमध्ये ओली पक्षमा ६ जना वडाध्यक्ष मात्रै खुलेको छ भने ४ जना वडाध्यक्ष तटस्थ देखिएको छ र बाँकी ३७ जना वडाध्यक्षहरु प्रचण्ड नेपाल समूहमा खुलेका छन् । ओली पक्षमा बेलका नगरपालिकामा चार जना वडाध्यक्ष, कटारी नगरपालिकामा दुई जना वडाध्यक्ष खुलेका छन् ।
बेलका नगरपालिकाका मेयर दुर्गा थापा सहित ३ जना वडाध्यक्ष ओली समूहमा खुलेका छन् । उपमेयर राजकुमारी चौधरी तटस्थ देखिएकी छीन । वडाध्यक्ष मध्ये ओली समूहमा बेलका नगरपालिका वडा नं. ३ का वडाध्यक्ष भरत मगर, वडा नं. ५ का वडाध्यक्ष गोविन्द कुमार खडका, वडा नं. ६ का वडाध्यक्ष बसन्त मगर र वडा नं. ७ का वडाध्यक्ष सुरेन्द्र राई रहेका छन् ।
बेलका नगरपालिका वडा नं. ४ का वडाध्यक्ष दिपक दंगाल, वडा नं. ८ का वडाध्यक्ष जय कुमार राई र वडा नं. ९ का वडाध्यक्ष मोहन घिमिरे प्रचण्ड नेपाल पक्षमा खुलेरै लागेका छन् ।
चौदण्डीगढी नगरपालिका मेयर, उपमेयरको साथै त्रियुगा नगरपालिका र लिम्चुङबुङ गाउँपालिकाका उपप्रमुख नेपाली काँग्रेसबाट विजयी भएका छन् । चौदण्डीगढी नगरपालिमामा ४ जना वडाध्यक्ष नेकपाले विजय गरेकोमा सवै वडाध्यक्ष प्रतिगमनको विरुद्ध प्रचण्ड नेपाल पक्षमा लागेका छन् । चौदण्डीगढी नगरपालिका वडा नं. २ का वडाध्यक्ष सन्तोष सुवेदी, वडा नं. ५ का वडाध्यक्ष देव नारायण चौधरी, वडा नं. ६ का वडाध्यक्ष कमल ध्वज राई र वडा नं. ९ का वडाध्यक्ष प्रकाश बस्नेत रहेका छन् ।
त्रियुगा नगरपालिकामा मेयर बलदेव चौधरी सहित ८ वटा वडा नेकपाका वडाध्यक्ष छन् । सवै प्रचण्ड नेपाल समूहमा खुलेका छन् । त्रियुगा नगरपालिका २ का वडाध्यक्ष घमान सिंह खत्री, वडा नं. ३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरी, वडा नं. ४ का वडाध्यक्ष सुभाष निरौला, वडा नं. ११ का वडाध्यक्ष विश्वराज भट्टराई, वडा नं. १२ का वडाध्यक्ष जय विक्रम राई, वडा नं. १३ का वडाध्यक्ष पशुपति चौधरी, वडा नं. १४ का वडाध्यक्ष कुरुङ राई र वडा नं. १६ का वडाध्यक्ष मान बहादुर राई रहेका छन् ।