गोरखामा छ बर्षमा मध्यपहाडी लोकमार्गको काम ३० प्रतिशत मात्र प्रगति
मध्यपहाडी लोकमार्गको गोरखा खण्डमा काम सुरु भएको छ बर्षमा ३० प्रतिशत मात्र प्रगति भएको छ । पाँच वटा खण्ड बनाएर काम सञ्चालन गरिएको यहाँ पाँच किलोमिटरको एउटा खण्डको काम सतप्रतिशत प्रगति भएको छ भने दुईवटा खण्डको काम नै सुरु नभएको मध्यपहाडी लोकमार्गको गोरखास्थित आयोजना कार्यालयले जनाएको छ ।
पहिलो खण्डको आरुघाट देखि ओख्लेसम्मको १३ किलोमिटर कालोपत्रे गर्ने काम छ बर्षमा जम्मा ७० प्रतिशत प्रगति भएको कार्यालयका सूचना अधिकारी इञ्जिनियर गोविन्दकुमार श्रेष्ठले जानकारी दिए ।
‘दोस्रोखण्ड ओख्लेदेखि खहरेसम्मको १६ किलोमिटर कालोपत्रे गर्ने कामको ४५ प्रतिशत मात्र प्रगति भएको छ’, श्रेष्ठले भने, ‘खहरेदेखि मसानेठाँटीसम्मको १२.३ किलोमिटर र मसानेठाँटीदेखि ठाँटीपोखरीसम्मको १५.७ किलोमिटर कालोपत्रे गर्ने काम यस बर्ष बल्ल टेण्डर प्रक्रियामा गएको छ ।’ ठाँटीपोखरीदेखि चेपेघाट सम्मको छ किलोमिटरको भने कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको उनले बताए ।
मध्यपहाडी लोकमार्गको आरुघाट देखि चेपेघाटसम्मको ६३ किलोमिटर खण्ड गोरखामा पर्छ । यहाँ तीनवटा पुल निर्माणको काम पनि छ ।
जसमा जराङखोला पुल निर्माणको ९० प्रतिशत प्रगति भएको छ भने बोहोरेखोला पुल ३५ प्रतिशत प्रगति भएको आयोजना कार्यालयले जनाएको छ ।
मिर्दिखोला पुल भने सम्पन्न भइसकेको सूचना अधिकारी श्रेष्ठले बताए । ‘सबै कामको प्रगति विश्लेषण गर्दा यो छ बर्षमा ३० प्रतिशत प्रगति भयो भन्न मिल्छ’, श्रेष्ठले भने । आर्थिक बर्ष २०७१/०७२ सालदेखि गोरखामा मध्यपहाडी लोकमार्ग आयोजना सञ्चाल आरम्भ भएको थियो ।