प्रधानमन्त्री ओलीले पनि टिकटकमा खाता खोले
प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक अकाउन्ट सञ्चालनमा ल्याएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो ।
'प्रधानमन्त्री पहिलादेखि नै फेसबुक र ट्विटरमा हुनुहुन्छ', प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, 'उहाँका धारणाहरू लोकप्रिय बनेको टिकटकबाट पनि जनतामा पुर्याउन खोजेका हौं।' टिकटकले प्रधानमन्त्रीको अकाउन्ट भेरिफाइ गरिसकेको छ । प्रधानमन्त्रीको पहिलो भिडिओमा एक लाख भ्युज कटेको छ । नयाँ पुस्तामाझ टिकटक चर्चित छ । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले छलफल गरेर नै सञ्चालनमा ल्याइएको बताए ।
'अकाउन्ट खोलेका थियौं, टिकटकले हामीलाई प्रधानमन्त्रीको आधिकारिक हो/होइन भनेर सोध्यो', ती सदस्यले भने, 'हामीले आधिकारिक अकाउन्ट भएको बताएपछि भेरिफाइड भयो।'