प्रदेशभरका बासिन्दाहरुको मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने ठाउँ भालुवाङ : मुख्यमन्त्री पोखरेल
(बुटवल) प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशभरका बासिन्दाहरुको मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने ठाउँ (दाङको भालुवाङ)मा राजधानी प्रस्ताव गरेको बताउनुभएको छ ।
मंगलबार प्रदेशसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले प्रदेशभरका बासिन्दाहरुको मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने ठाउँ (दाङको भालुवाङ)मा राजधानी प्रस्ताव गरेको बताउनुभएको हो ।
उहाँले प्रदेश ५ मा रहेका विगतका लुम्बिनी, राप्ती र भेरी अञ्चलको केन्द्रविन्दूको रुपमा राप्ती उपत्यकालाई राजधानी बनाउन खोजेको सुनाउनुभयो । राप्ती उपत्यकाले लुम्बिनी, राप्ती र भेरी सबैको मनोविज्ञानलाई जोड्ने काम गर्ने पनि उहाँको भनाइ छ ।
यसका साथै उहाँले प्रस्तावित राजधानीमा साविकको लुम्बिनी अञ्चलको अर्घाखाँची पनि समावेश भएकाले लुम्बिनी क्षेत्रकाले दुःख मान्नु नपर्ने बताउँदै प्रदेशभित्रका १२ वटै जिल्लाको जनताको समृद्धिको चाहनाको प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी तोकिएको जिकिर गर्नुभयो ।
त्यस्तै, उहाँले प्रदेशको सबैभन्दा ठूलो नदी सभ्यता भएको ठाउँमा प्रदेश राजधानी बन्न लागेको पनि बताउनुभयो । उहाँले बुटवल–भैरहवा करिडोर क्षेत्रलाई प्रदेशको वित्तीय राजधानीको रुपमा विकास गर्ने प्रतिवद्धता पनि जनाउनुभयो । मुख्यमनत्री पोखरेलले प्रदेश राजधानी दाङको भालुवाङ तोकिए पनि त्यहाँ संरचना नबन्दासम्म बुटवलमा नै रहने पनि सुझाउनुभयो । उहाँले प्रदेश राजधानीलाई प्रदेशसभाका सबै सदस्यले गर्व गर्ने ठाउँ बनाउने बताउनुभएको छ ।
उहाँले आफ्नो ठाउँमा राजधानी लगेको भन्ने कुरा पनि गलत भएको जिकिर गर्नुभयो । आफ्नो गाउँबाट भालुवाङ आउन जति समय लाग्छ, त्यतिनै बुटवलबाट पनि समय लाग्ने उहाँले बताउनुभयो ।