चियाको आम्दानी १४७ प्रतिशतले वृद्धि
(इलाम) नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार आएको छ । सरकारले प्रवर्द्धन गर्ने कार्यक्रम ल्याए पनि चियाको निकासीमा सुधार नहुँदा सधैं चियाको तथ्यांक ऋणात्मक हुने गर्थ्यो । तर यस वर्षको शुरुआतसँगै चियाको निकासी १४७ प्रतिशतले वृद्धि भएको तथ्यांक छ ।
गएको आर्थिक वर्ष २०७६/७७ को (साउन–भदौ) मा रु ६४ करोड २३ लाख एक हजार बराबरको चिया निकासी भएकामा यस आव (साउन–भदौ) मा रु एक अर्ब ५८ करोड ६६ लाख ५७ हजार मूल्य बराबरको चिया निकासी भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ ।
केन्द्रको तथ्यांकअनुसार गएको आव २०७६/७७ मा २३ लाख ५० हजार ७९० किलो चिया निकासी भएकामा यस आवमा बढेर ५३ लाख १७ हजार ५८२ किलो चिया निर्यात भएको छ । चियाको निकासी र आम्दानी ह्वात्तै बढ्नुका कारण भने भारतमा चिया उत्पादन कम हुनु भएको सरोकारवालाको भनाइ छ ।
आर्थिक वर्षको शुरुमा अलैंचीको निकासी गएको वर्षको तुलनामा घटेको छ भने अदुवाको तथ्यांक भने सामान्य बढेको छ
कोरोना र मौसमले भारतमा चिया उत्पादन घटेकाले भारतमा नेपाली चियाको माग बढेको नेपाल टी एशोसिएशनका अध्यक्ष कमल मैनाली बताउँछन् । उनी भन्छन्, ‘भारतमा २५ प्रतिशत चिया उत्पादन घटेको छ । त्यसैले चियाको निकासी नेपालमा बढेको हो ।’ मैनालीका अनुसार नेपालका चिया किसानले चियाको उल्लेखीय मूल्य पाएकाले बढी निकासी भएको हो ।
निकासी बढे पनि नेपालमा चियाको उत्पादन भने नबढेको सरोकारवालाको भनाइ छ । गएको आर्थिक वर्ष कोरोनाका कारण निकासी नभएको चिया पनि यस आव निकासी हुँदा तथ्यांक बढेको हुनसक्ने अनुमान गरिएको छ ।
चियाको निकासी सधैं अस्थिर रहने भएकाले पनि घटबढ भइरहन्छ । तर यस वर्षको शुरुमा भने अत्यन्त बढी अन्तर आएको छ । जुन अन्तरका कारण नेपालमा निकासी हुने वस्तुको दोस्रो बढी निकासी हुने वस्तुमा चिया परेको छ ।
वर्षको शुरुमा अन्तर बढे पनि वर्षभरको तथ्यांका फरक नपर्ने बताउँछन्, केन्द्रीय चिया सहकारी संकका महासचिव रविन राई ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार आव २०७४/७५ मा एक करोड ५६ लाख ८४ हजार ५४४ किलो चिया निर्यात भएकामा गत आव २०७५/७६ मा एक करोड ५० लाख ४३ हजार ७९६ किलो निर्यात भएको तथ्यांकले देखाउँछ । यसरी हेर्दा गत आवमा ६४ हजार ७४८ किलो चिया निकासी कम भएको देखिन्छ ।