काेराेनाविरूद्ध लड्न चीनसँग लिने सहयाेगकाे सूची तयार हुँदै, अपराह्न भिडियो कन्फेरेन्स
(काठमाडाैँ) चीनको प्रस्ताव अनुसार काेराेना भाइरसविरूद्ध नेपालले सहयोग लिने सूचीका विषयमा आज छलफल हुने भएको छ ।
आज अपराह्न २ नेपाल र चीनबीच भिडियो कन्फेरेन्स हुँदैछ । भिडियाे कन्फेरेन्समा कोरोना भाइरसविरुद्ध लडेको चीनको अनुभव र सहयोगका विषयमा संवाद एवं छलफल हुने बताइएकाे छ ।
गत मंगलबार नेपालस्थित चिनियाँ दूतावासमार्फत पत्र पठाउँदै चीन सरकारले आवश्यक मेडिकलदेखि प्राविधिक जनशक्तिसहितको सहयोग दिने प्रस्ताव नेपाल सरकारलाई गरेको थियो । परराष्ट्र मन्त्रालयका अनुसार सम्भावित काेराेना संक्रमण विरूद्ध जुध्न चाहिने सहयोगका बारेमा स्वास्थ्य मन्त्रालयको तहबाट बेइजिङ–काठमाडौं भिडियो कन्फरेन्स हुनेछ ।
चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोभिड–१९ संक्रमणलाई चिनियाँ सरकारले लगभग नियन्त्रण गरिसकेको जनाएको छ ।
नेपालमा भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चीनबाट आवश्यक सहयोगको विषयमा परराष्ट्र र अर्थ मन्त्रालयले तयारी गरेर काम अघि बढाइएको जनाएको छ ।