फ्रान्समा कोरोना संक्रमणबाट गम्भीर बिरामी भएकामध्ये ५० प्रतिशत ६० वर्ष मुनिका
(पेरिस) फ्रान्समा कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित भएर सघन उपचार कक्ष(आईसीयू) मा उपचाररतमध्ये आधाभन्दा बढी ६० वर्षमुनिका व्यक्ति रहेको त्यहाँका अधिकारीले जानकारी दिएका छन् ।
कोरोना भाइरसकाे संक्रमण बढ्दै गएसँगै निस सहरमा बन्द गरिएको रेस्टुरेन्टमा खप्ट्याएर राखिएका कुर्सीहरु तस्बिर : रोयटर्स
फ्रान्समा ३ सय भन्दा बढी संक्रमित आईसीयूमा उपचाररत रहेको र त्यसको आधाभन्दा बढी ६० वर्षमुनिका व्यक्ति रहेको फ्रान्सेली राष्ट्रिय स्वास्थ्य विभागका महानिर्देशक जेरोमी सालोमोनले जानकारी दिए । ‘हामीले आज रातिसम्म आईसीयूमा ३ सय भन्दा बढी गम्भीर बिरामी रहेको थाहा पाएका छौँ । हामीकहाँ गम्भीरमध्ये ५० प्रतिशतभन्दा बढी प्रौढ रहेका छन् । उनीहरु ६० वर्षभन्दा मुनिका रहेका छन्,’ पत्रकार सम्मेलनमा महानिर्देशक सालोमोनले बताए । तर आईसीयूमा रहेका बिरामी ६० वर्षमुनिका भएका बताए पनि महानिर्देशक सालोमोनले कति कति वर्ष भन्नेचाहिँ खुलाएनन् ।