प्रधानन्त्रीको मिर्गौलामा समस्या आयो
(काठमाडौं) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था बाहिर हल्ला भएजस्तो गम्भीर नभएको तर मिर्गौलामा समस्या आएको बताएका छन्। नेकपा सचिवालयको शनिबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै यस्तो बताएका हुन्।
बैठकमा सहभागी सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीले सबै रिपोर्ट हेरेपछि मात्रै आफ्नो स्वास्थ्य कस्तो छ भनेर यकिन रुपमा भन्न सकिने बताए। ‘बैठकमा प्रधानमन्त्रीज्यूले आफ्नो स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गर्नुभयो। बाहिर हल्ला भएजस्तो गम्भीर नभएको, अहिले डायलासिस गर्नुपर्ने र सबै रिपोर्ट आएपछि मात्र के गर्ने भन्नेबारे छलफल हुने बताउनु भयो’, ती सदस्यले भने।
सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएको बताए। ‘प्रधानमन्त्रीज्यूले स्वास्थ्य जाँचका सबै रिपोर्ट आइनसकेकाले आएपछि थाहा हुने जानकारी दिनुभयो’, श्रेष्ठले भने।
उनले बाहिर हल्ला भएजस्तो प्रधानमन्त्री सिकिस्त बिरामी नभएको पनि जानकारी दिए। ‘जाँचका सबै रिपोर्ट आएपछि उपचारका अन्य प्रक्रियामा अगाडि बढ्नुपर्छ,’ प्रधानमन्त्रीज्यूको पनि यही कुरा छ। अहिले उहाँ स्वस्थ्य नै हुनुहुन्छ’, श्रेष्ठले भने।
बैठकमा ग्रान्डी अस्पतालमा दुईपटक डायलासिस गरिएको र फेरि भोलि (आइतबार) पनि गर्नुपर्ने जानकारी गराइएको थियो। ‘रिपोर्ट हेरेपछि अर्को मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भए पनि चिकित्सकले निर्णय गर्ने प्रधानमन्त्रीज्यूको संकेत थियो तर उहाँले प्रत्यारोपण गर्ने÷नगर्ने विषयमा केही बताउनु भएन’, ती सदस्यले भने। अस्वस्थ भएपछि बुधबार ग्रान्डी अस्पतालमा भर्ना गरिएका प्रधानमन्त्री ओली बिहीबार साँझ डिस्चार्ज भएका थिए।
बैठकमा प्रधानमन्त्रीले ओलीले ‘आफ्नो स्वास्थ्यमा केही समस्या आएको, शरीरमा पानी जम्मा हुने समस्या देखिएको, नियमित डायलासिस गर्नुपर्ने हो कि भन्ने चिकित्सकको भनाइ छ तर सबै रिपोर्ट आएको छैन, आएपछि थाहा हुन्छ’ भनेका थिए। स्रोतका अनुसार डायलासिसको विकल्पमा पुनः मिर्गौला प्रत्यारोपण गर्ने कि भन्ने विषयमा पनि चिकित्सकको रायमा भर पर्ने उनले बताएका थिए।
प्रधानमन्त्री ओलीले बिहान १० बजे बालुवाटारमा सचिवालय बैठक बोलाएका थिए। सचिवालयका सबै सदस्य साढे १० बजे बालुवाटार पुगिसकेका भए पनि बैठक भने केही ढिलो सुरु भएको थियो। सचिवालय सदस्यहरू जम्मा भएपछि पनि प्रधानमन्त्री ओली ढिलो गरी बैठक कक्षमा प्रवेश गरेका थिए। उनी एक घण्टामात्रै बैठक कक्षमा बसेका थिए। एक घण्टाको समयमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र सञ्चो बिसन्चोबारे कुराकानी भयोे।
ग्रान्डी अस्पतालमा पनि बुधबार र बिहीबार गरी उनको दुईपटक डायलासिस गरिएको थियो। प्रधानमन्त्री ओलीले साताको तीन पटक डायलासिस गर्नुपर्ने चिकित्सकको सुझाव रहे पनि त्यसलाई औपचारिक रुपमा बाहिर ल्याइएको छैन। सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले डायलासिस गर्नुपर्ने मात्रै बताए। कतिपटक डायलासिस गर्ने वा अर्को मिर्गौला प्रत्यारोपण गर्ने भन्ने विषयमा उनले केही बताएनन्। वैठकमा प्रधानमन्त्री ओलीलाई सचिवालय सदस्यहरुले आराम गर्न सुझाव दिएका थिए।
बाह्र वर्षअघि प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसपछि नियमित औषधि सेवन र फ्लोअप उपचार गराउँदै आएका प्रधानमन्त्री ओली पछिल्लो पटक साउन र भदौमा उपचारका लागि सिंगापुर गएका थिए। सिंगापुरमा प्रधानमन्त्री ओलीको प्लाज्माफेरेसिस गरेर रगतमा रहेको एन्टीबडी निकालिएको थियो।
स्रोतका अनुसार ओली बैठक कक्षबाट निस्किएपछि केहीबेर सचिवालय सदस्यहरुबीच उपनिर्वाचनमा उम्मेदवार छनोटबारे छलफल भएको थियो। उपनिर्वाचनमा पार्टीका संगठन परिचालन तथा उम्मेदवार टुंगो लगाउने विषयमा छलफल गर्न आइबार पुनः सचिवालय बैठक बस्ने छ।
नेकपाले उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र नम्बर २ लाई प्राथमिकतामा राखेको छ। संघीय प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त जनप्रतिनिधिको पूर्ति गर्न मंसिर १४ मा उपनिर्वाचन हुँदैछ।