हाइड्रोदेखि धर्मशालासम्म : ६ करोडमा सांसदको प्राथमिकता
काठमाडौं । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गतका योजना छनोटमा सांसदका रोजाइ फेरिएका छन् । विगतमा सांसदहरुले ग्रामीण सडकमा बढ्ता रकम छुट्याउँथे ।
तर, यस वर्ष सांसदहरुको रोजाइ फेरिएको छ र प्राथमिकतामा परेका छन्– वातावरण संरक्षण, सिंचाइ, शिक्षा र स्वास्थ्यका लागि भवन, लघु जलविद्युत आयोजनादेखि धर्मशाला निर्माणसम्म ।
जुम्ला –१ बाट निर्वाचित नेकपाका सांसद गजेन्द्रबहादुर महतले यस वर्ष यस कार्यक्रमअन्तर्गतको ६ करोड रकम पुरै एउटा हाइड्रोलाई दिएका छन् । ‘सबैको परामर्शमा एउटै मात्र आयोजना छनोट गरेको छु, पुरै ६ करोड सिला लघु जलविद्युत आयोजनालाई दिएको छु । उक्त आयोजनामा सम्बन्धित गाउँपालिकाको पनि साझेदारी रहनेछ’ सांसद महतले भने ।
अबको दुई बर्षभित्र सक्ने योजना रहेको यो आयोजनामा चालु आर्थिक बर्षका लागि सिला गाउँपालिकाले दुई करोड रकम छुट्याएको छ । अघिल्लो बर्ष स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ४ करोड र सिला गाउँपालिकाले डेढ करोड खर्च भएको थियो । आयोजना निर्माण सम्पन्न भएपछि जुम्लाका पुरै जिल्लाकासी लाभान्वित हुने सांसद महतले बताए ।
बारा– ४ निर्वाचित राजपा नेपालका सांसद एकवाल मियाँले निर्वाचन क्षेत्रभित्र पर्ने बिभिन्न स्थानमा धर्मशाला निर्माणका लागि १ करोड छुट्याउने योजना बनाएका छन् । ‘यहि १५ गते परामर्श समितिको बैठक बोलाएको छु । त्यहि बैठकबाट योजना छनोट बारेका निर्णयहरु अगाडि बढ्छन्’, सांसद मियाँ भन्छन्, ‘यसपटक धर्मशाला निर्माणलाई प्राथमिकतामा राखेको छु ।’
सिला गाउँपालिकामा निर्माणधिन १ मेगावाटको यो आयोजनाको कूल लागत २७ करोड रहेको छ । अघिल्लो बर्षबाट सुरु भएको यो आयोजनाको डीपीआर तयार भइसकेको छ भने, आयोजनाका लागि मेसिनको अर्डर गर्ने, आयोजना स्थलसम्म पुग्नका लागि कच्ची सडकको निर्माण लगायतका कार्य सकिएको सांसद महतले जानकारी दिए ।
नदी नियन्त्रण, सिंचाई, विद्यालयका लागि भवन निर्माण लगायतका योजनालाई पनि सांसद मियाँले प्राथमिकतामा राखेका छन् । सडकका आयोजनालाई कुनै रकम नदिने उनको योजना छ । उनी भन्छन्, ‘विगतका बर्षहरुमा यस कार्यक्रम अन्तर्गतका रकम सडकमा बढी गएका थिए । तर, यसबर्ष मैले त्यसलाई रकम नदिने सोच बनाएको छु, किनकी रोड स्थानीय तहले नै बनाउँछ ।’
सुनसरी–४ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्कीले भने कस्ता आयोजना छनोट गर्ने भन्ने तय गरिसकेका छैनन् । ‘स्थानीयस्तरबाट बिभिन्न मागहरु आएका छन् । तिनैलाई हेरेर छनोट गर्छु । यसैमा बढ्ता केन्द्रीत गर्ने भन्ने त्यस्तो छैन्’ उनले भने ।
धर्मशाला निर्माण गरेपछि स्थानीय स्तरमा हुने बिभिन्न सामाजिक कार्य (बिबाह, जन्मउत्सव, धर्म अनुसारका कार्य)का लागि सहज हुने उनको विश्वास छ ।
कार्यविधिमा यस कार्यक्रमअन्तर्गतको रकम पूर्वाधार विकासमा मात्रै खर्च गर्नुपर्ने उल्लेख छ । पूर्वाधार मात्रै भन्दा स्थानीयको चाहना र आवश्यकताका आधारमा योजना/आयोजना छनोट गर्न आफूहरुलाई अप्ठेरो परेको सुर्खेत–१ बाट निर्वाचित सांसद ध्रुवकुमार शाहीको गुनासो छ ।
सांसद शाहीले अनलाइनखबरसँग दुखेसो सुनाउँदै भने, ‘मेरो चाहना उत्पादन बढाउने, रोजगार बढाउने कार्यमा खर्च गर्ने थियो । तर, कार्यविधि खाली पूर्वाधार भन्छ ।’ आफूलाई मात्रै नभई सबै सांसदहरुलाई कार्यविधिले अप्ठ्यारो पारेको उनको जिकिर छ ।
तथापि, उनले स्थानीय स्तरबाट माग भई आएका आयोजनालाई नै रमक छुट्याउने योजना बनाएका छन् । ‘यही ८ गते परामर्श बैठक राखेको छु । पार्टीको जिम्मेवारीले कस्ता आयोजनामा रकम दिने भनेर विशेष तयारी गर्न भ्याएको छैन । स्थानीय स्तरबाट माग भई आएका आयोजनाहरुमा रकम छुट्याउछुँ । बढ्ता टेन्सन लिनु छैन ’ उनले भने ।