उपेन्द्र महतोद्वारा एनआरएन सम्मेलन बहिस्कार
(काठमाडौं) गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन चरम राजनीतिकरण भएको भन्दै संघका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले बहिष्कार गरेका छन्।
संघमा अस्वभाविक राजनीतिक ध्रुवीकरण गर्दै भातृ संगठन जस्तो बनाउन खोजिएकोले आफुले सम्मेलन बहिस्कार गरेको महलोले नागरिकन्यूजलाई बताए। 'राजनीतिक गर्नुहुन्न चुनाव लड्नु हुन्न भनेर मैले भनेको छैन', महतोले भने, 'तर एनआरएनलाई यसकै रुपमा दिउँ राजनीतिक प्यानल नबनाउँ भन्ने मेरो भनाई हो।'
विश्वर छरिएर रहेका नेपालीहरुको साझा संगठनलाई कुनै पार्टीको भातृ संगठन जस्तो बनाउन नहुने उनको तर्क छ।
‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित सुरु भएको सम्मेलनमा विश्वभरबाट २८ सय प्रतिनिधि सहभागी छन्। विभन्न १४ पदका लागि ४२ जना चुनिनेछन्। मतदानको कार्यतालिका बुधबारका लागि तय गरिएको छ। आगामी नेतृत्वका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्।
धुव्रीकरण र खिचातानी गर्नु अस्वभाविक रहेको पनि महतोको ठहर छ। संघमा आवद्ध भएकाहरुले मातृभूमीप्रतिको दायित्व भुल्न नहुने उनको तर्क छ।
महतोले आठौं विश्व सम्मेलनमा पनि अध्यक्षको लागि आफू चुनावको पक्षमा नरहेको सन्देश प्रवाह गरेका थिए। त्यतिवेला उनले चुनाव हुँदा विभाजन आउने र भावनामा चल्ने संस्थामा भोट गन्ने काम गर्न नहुने तर्क गरेका थिए। महतोले आफू चुनावको विरोधी नभएको पनि स्पष्ट पारेका छन्। उनले भन्ने गरेका छन्,‘म चुनावको विरोधी होईन, सकेसम्म चुनाव गर्नुहुँदैन्। यदि चुनावमै जानुपरे त्यो चुनावमा राजनीतिक खासगरी विशेष दलगत राजनीतिक हाबी गराउनुहुँदैन।’