भारत, बंगलादेश र नेपालवीच त्रिदेशीय बस चलाउने तयारी
(काठमाडौं) बंगलादेशको ढाकाबाट ०७५ साल वैशाख १० गते छुटेका श्यामोली परिवहनका दुईवटा बस वैशाख १२ गते काँकडभिट्टा नाका हुँदै पहिलोचोटि नेपाल छिरेका थिए । नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनको सन्देश लिएर ती बसहरु बंगलादेशको राजधानी ढाकाबाट छुटेका थिए ।
बंगलादेशको बंगलाबन्ध-फूलवारी मार्ग हुँदै भारतको सिलगुढी र पानीट्यांकीको बाटो भएर ती बस नेपाल प्रवेश गरेका थिए । बसमा बंगलादेश रोड ट्रान्सपोर्ट कर्पोरेसनका अध्यक्ष फरिद अहमद भूइयन, भारतीय यातायात मन्त्रालयका उच्च अधिकारी अमित मञ्जल र नेपालका तर्फबाट भौतिक योजना तथा यातायात मन्त्रालयका वरिष्ठ डिभिजनल इञ्जिनियर गोविन्दप्रसाद खरेलसहित ८० जना थिए ।
बंगलादेश, भुटान भारत र नेपाल (बीबीआईएन) बीच भएको चार देशीय सीधा यातायात सेवा सञ्चालन गर्ने सम्झौतापछि पहिलोपटक ती बसहरु ढाकाबाट यात्रु बोकेर परीक्षण सेवाका लागि नेपाल आएका थिए ।
दुईवटा बसले परीक्षण यात्रा गरे पनि अहिले त्यो सम्झौता कार्यान्वयन हुन सकिरहेको छैन । सम्झौता कार्यान्वयन नहुनुको एउटै कारण हो- भुटान ।
भुटानको राजधानी थिम्पूमा १५ जून २०१५ मा बंगलादेश, भुटान, भारत र नेपालका यातायात मन्त्रीस्तरमा चार देशबीच मोटर यातायात सञ्चालन प्रोटोकल्समा हस्ताक्षर भएको हो । तर, आफ्नै देशमा भएको सम्झौता कार्यान्वयनमा भुटानले अहिलेसम्म अटेर गर्दै आइरहेको छ ।
द्वीपक्षीय तथा त्रिपक्षीय छलफलबाट भन्सारका विषय सल्टाउँदै जाने गरी चार देशको यात्रु र सामान बोकेका सवारी रुट तय गर्न त्यतिबेला चारै देशवीच सहमति भएको थियो ।
सडक मार्गले यी देशका जनताबीच पारस्परिक सम्बन्ध स्थापित हुने र सडकमार्ग हुँदै गरिने ब्यापारका आयामले आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको थियो ।
क्षेत्रीय एकतालाई बलियो बनाउँदै आर्थिक विकासमा हातेमालो गर्न र यो बीबीआईएन महत्वपूर्ण हुने बताइएको थियो । एसियन डेभलपमेन्ट बैंकको सहयोगमा प्राविधिक र आर्थिक सहयोगमा चार देश जोड्ने महत्वकांक्षी योजना अघि बढाइएको थियो ।
यो योजना कार्यान्वयनमा आएको भए काठमाडौं, नयाँ दिल्ली, थिम्पु र ढाकालाई स्थल मार्ग हुँदै यात्रु र सामान बोकेको सवारीमार्फत जोड्ने पुलको काम गर्दथ्यो । तर, थिम्पु हस्ताक्षरलाई आ-आफ्नो देशको संसदबाट अनुमोदन गराउनुपर्ने प्रोटोकलमा समझदारी भए पनि अहिले भुटानले आफ्नो सदनबाट प्रोटोकल अनुमोदन गराएको छैन ।
बीबीआईएन मोटर भेइकल एग्रिमेन्टबारे जानकार वाणिज्य मन्त्रालयका एक अधिकारीका अनुसार भुटान यसबारे अनिणिर्त अवस्थामै छ । पूर्वी नेपालमा भुटानी शरणार्थीहरु रहेकाले उनीहरु दक्षिण भुटानमा छिर्न सक्ने ठानेर भूटानले सोझो यातायात सेवा सञ्चालन गर्न नमानेको कतिपयको विश्लेषण छ ।
बंगलादेश, भारत र नेपालले समझदारी अगाडि बढाउन प्रक्रिया पूरा गरे पनि भुटानी संसदले अहिलेसम्म यो समझदारीलाई अनुमोदन गरेको छैन । भुटानकै कारण अन्य तीन देशबीचको यात्रु तथा पारवहन यातायात सेवा सञ्चालन चार वर्षदेखि अडि्कएको तीन देशका सरकार प्रमुखहरुको निष्कर्ष छ ।
बीबीआईएन कार्यान्वयलाई प्राथमिकतामा राखेकै कारण बंगलदेशसँग सीधा बस सेवा सञ्चालन गर्न नेपालले राखेको प्रस्ताव दुई साता अघिको वाणिज्य सहसचिव स्तरको प्राविधिक समितिको बैठकमा अस्वीकृत भएको थियो ।