भोटेकोशी बाढीको जोखिम कायमै, हाकुबेँसीका १५६ परिवारले बस्ती सार्न माग
रसुवा– भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम कायमै रहेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुबेँसीका १५६ परिवारले बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन् ।
बाढीका कारण गाउँको तल्लो भागमा तीव्र कटान भइरहेको र जमिन कमजोर भई पहिरो खस्ने क्रम जारी रहेकाले बस्ती पूर्ण जोखिममा परेको स्थानीयले बताएका छन् ।
स्थानीयले प्रमुख जिल्ला अधिकारीमार्फत बस्ती स्थानान्तरणको मागसहित लिखित निवेदन बुझाएका छन् । बाढी र कटानका कारण गाउँको विद्यालय तथा प्रहरी चौकीसमेत जोखिममा परेका छन् ।
गाउँपालिका अध्यक्ष बुचुङ तामाङले जोखिममा रहेका नागरिकलाई सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने बताउँदै बस्ती तत्काल स्थानान्तरण गर्नुको विकल्प नरहेको बताएका छन् ।
यता, जिल्ला विपद् व्यवस्थापन समितिले बाढीका कारण बेपत्ता तथा सम्पर्कविहीन भएका व्यक्तिहरूको विवरण संकलन गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार भूगर्भविद्हरूको स्थलगत अध्ययनपछि मात्रै जोखिमयुक्त बस्ती स्थानान्तरणबारे ठोस निर्णय गरिनेछ ।