नेपाल लाइफको अभिकर्ता सम्मान कार्यक्रममा विवाद, दुवै पक्षबाट आरोप–प्रत्यारोप
काठमाडौं — नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुधबार काठमाडौंमा आयोजना गरेको राष्ट्रियस्तरको अभिकर्ता सम्मान कार्यक्रममा विवाद भएको छ। घटनालाई लिएर अभिकर्ताका दुई पक्षले एकअर्कामाथि आरोप लगाउँदै बिहीबार छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरेका छन्।
नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघले सम्मान कार्यक्रममा अभिकर्ता तथा ट्रेड युनियनका नेतृत्वलाई दुर्व्यवहार र अपमान गरिएको आरोप लगाएको छ। संघले नेपालको संविधान, ट्रेड युनियन ऐन तथा श्रम ऐनअनुसार श्रम विभागमा विधिवत् दर्ता भएको ट्रेड युनियनका नेतृत्वलाई अपमान गरी अभिकर्ताबीच विभाजन ल्याउने प्रयास भएको दाबी गरेको छ।
संघले कम्पनीले अभिकर्तामाथि असमान व्यवहार गरेको तथा त्यसबाट बीमितले पाउने बोनससमेत प्रभावित भइरहेको आरोप लगाएको छ।
संगठित अभिकर्ताहरूले आफ्नो संगठनात्मक पहिचान खोज्ने क्रममा कार्यक्रमस्थल होटल याक एन्ड यतीमा बाउन्सर तथा सुरक्षाकर्मी परिचालन गरिएको संघको आरोप छ। संघले समितिका अध्यक्षसहित केही अभिकर्तालाई पक्राउ गरिएको भन्दै घटनाको भर्त्सना गरेको छ।
यता, अर्को पेशागत बीमा अभिकर्ता संघले भने घटनाको फरक विवरण सार्वजनिक गरेको छ। उसले कार्यक्रम चलिरहेका बेला केही गैर–अभिकर्ताहरूले अनावश्यक विवाद सिर्जना गरी कार्यक्रम प्रभावित पार्न खोजेको र कम्पनीलाई बदनाम गर्ने उद्देश्यले हुल–हुज्जत गरेको आरोप लगाएको छ।
दुवै पक्षले बिहीबार जारी गरेका विज्ञप्तिमार्फत आ–आफ्नो धारणा सार्वजनिक गर्दै घटनाबारे एकअर्काको दाबीको प्रतिवाद गरेका छन्।
कार्यक्रममा भएको विवादले नेपाल लाइफका अभिकर्ताहरूबीचको संगठनात्मक तथा व्यावसायिक मतभेदलाई सतहमा ल्याएको छ।