नेपाली बजारमा सुनको मूल्य तोलामा ९ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडौं — नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९ हजार ३०० रुपैयाँले बढेर ३ लाख १३ हजार ४०० रुपैयाँ पुगेको छ।
बुधबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। एकै दिनमा ९ हजार ३०० रुपैयाँको वृद्धि भएपछि सुनको मूल्य फेरि उच्च विन्दुतर्फ उक्लिएको हो।
यस्तै, चाँदीको मूल्य पनि आज उल्लेख्य बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला २६० रुपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उच्च रहेको जनाइएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औँस सुन ४ हजार ५१२ अमेरिकी डलर तथा चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारको मूल्य, विनिमय दर तथा अन्य बजारगत कारणले नेपाली बजारमा सुनचाँदीको मूल्य निर्धारणमा प्रभाव पर्ने गर्छ।