केन्यामा एक महिनामा १५ हात्तीको मृत्यु, साइनाइड विषाक्तताको आशंका
केन्या । केन्याको अम्बोसेली राष्ट्रिय निकुञ्ज आसपास एक महिनाको अवधिमा १५ वटा हात्ती मरेपछि साइनाइड विषाक्तताको आशंका गरिएको छ। प्रारम्भिक परीक्षणमा साइनाइड भेटिए पनि विषाक्त पदार्थको स्रोत र हात्तीको मृत्युको वास्तविक कारणबारे अनुसन्धान जारी छ।
केन्या वन्यजन्तु सेवाका अनुसार मृत हात्तीको पेटमा टमाटर फेला परेको छ भने मर्नुअघि केही हात्तीमा पक्षाघात र श्वासप्रश्वासमा समस्या देखिएको थियो। तर शरीरमा साइनाइडको मात्रा र यसको स्रोत पुष्टि गर्न थप परीक्षण भइरहेको छ।
वन्यजन्तु अधिकारीहरूले खेतमा प्रयोग हुने रसायन वा अन्य स्रोतबाट साइनाइड आएको हुनसक्ने बताएका छन्। किसानहरूले भने कृषि रसायनबाटै हात्ती मरेको दाबीप्रति शंका व्यक्त गरेका छन्।
घटनाले अम्बोसेली क्षेत्रमा बढ्दो कृषि विस्तारसँगै मानिस र हात्तीबीचको द्वन्द्व तथा सहअस्तित्वको चुनौतीलाई पुनः उजागर गरेको छ। विज्ञहरूले घटनाको तत्काल विस्तृत अनुसन्धान र विषालु रसायनको सुरक्षित व्यवस्थापन गर्न आग्रह गरेका छन्।