पशुपतिमा युवकको हत्या गरेर भागेको आरोपमा साधु पक्राउ
पशुपतिनाथ मन्दिर परिसरमा एक युवकको हत्या गरेर फरार रहेका एक जना साधुलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा द्रव्यनाथ भन्ने सुबिन रानामगर रहेका छन्।
प्रहरीका अनुसार उनी सङ्खुवासभाका २५ वर्षीय सन्तोष गिरीको हत्या प्रकरणमा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ। उनलाई शुक्रबार महोत्तरीको गौशाला नगरपालिका–६ बाट पक्राउ गरी काठमाडौं ल्याइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिएका छन्।
मृतक सन्तोष गिरी काठमाडौं महानगरपालिका–८ स्थित पशुपति मन्दिर परिसरको १५ नम्बर शिवालयमा मृत अवस्थामा फेला परेका थिए। प्रहरी अनुसन्धान अनुसार चिम्टा र बाँसको चिर्पट प्रहार गरी उनको हत्या गरिएको थियो।
प्रारम्भिक अनुसन्धानमा महाशिवरात्रिको मेलाका क्रममा पशुपति पुगेका भारतीय साधु निरजनाथसहितको समूहसँग विवाद भएपछि सामूहिक रूपमा आक्रमण भएको खुलेको छ। घटनामा संलग्नहरूले चिम्टा लगायतका वस्तु प्रयोग गरी गिरीमाथि प्रहार गरेको प्रहरीले जनाएको छ।
यसअघि पनि प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा भारतको उत्तर प्रदेश मथुरा घर भएका ४८ वर्षीय नीरज नाथ र दोलखा बैतेश्वर गाउँपालिका घर भएका २३ वर्षीय आशीर्वाद नाथ योगी भन्ने सरोज तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।
प्रहरीका अनुसार फागुन ५ गते हत्या गरेपछि मुख्य आरोपी द्रव्यनाथ बल्खु हुँदै भारततर्फ भागेका थिए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।