हर्मुज जलडमरूमध्यमा अमेरिकी युद्धपोत लक्षित क्षेप्यास्त्र प्रहारको दाबी
हर्मुज जलडमरूमध्य नजिकै अमेरिकी युद्धपोतलाई लक्षित गरी इरानले दुई वटा क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ। इरानको फार्स समाचार एजेन्सीका अनुसार जास्क नजिकै रहेको अमेरिकी नौसेनाको जहाजमा उक्त आक्रमण गरिएको हो।
रिपोर्टअनुसार, इरानको रिभोलुसनरी गार्डले दिएको चेतावनी बेवास्ता गरिएको भन्दै आक्रमण गरिएको दाबी गरिएको छ। तर घटनाबारे स्वतन्त्र पुष्टि भने भएको छैन।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमध्यमा रोकिएका जहाजहरूलाई बाहिर निकाल्न ‘प्रोजेक्ट फ्रीडम’ सुरु गर्ने घोषणा गरेलगत्तै यो घटना सार्वजनिक भएको हो।
उक्त अभियानका लागि अमेरिकी सेन्ट्रल कमाण्डले हजारौं सैनिक, युद्धपोत, विमान र ड्रोन परिचालन गर्ने तयारी गरेको बताइएको छ।
इरानी सेनाले भने आफ्नो नौसेनाले अमेरिकी युद्धपोतहरूलाई जलडमरूमध्यमा प्रवेश गर्नबाट रोकेको दाबी गरेको छ।
घटनाले खाडी क्षेत्रको तनाव थप बढाएको देखिएको छ।