नेपालमा प्राकृतिक विपद्को जोखिम र व्यवस्थापन
गृह मन्त्रालयको विपद् पोर्टलका अनुसार यो वर्षको वैशाख यता साउनको शुक्रबार -१९ साउन) सम्म विभिन्न विपद्का घटनामा १२० जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता छन् । यो वर्ष हालसम्म २ हजार २७३ वटा विपद्जन्य घटनाबाट ८८ करोड रुपैयाँ भन्दा धेरैको आर्थिक क्षति भइसकेको तथ्यांक छ ।
त्यस्तै अघिल्लो वर्ष २०७९ मा नेपालमा कुल ४ हजार ५५६ वटा विपद्का घटनामा परेर ४८४ जनाको मृत्यु भयो भने अझै ३७ जना बेपत्ता छन् । गत वर्ष कुल ४ हजार ५५६ वटा विपद्का घटना भएकोमा कुल २ अर्ब ८६ करोड रुपैयाँको आर्थिक क्षति भएको छ । विपद्का कारण २ हजार ७९ वटा पूर्वाधार संरचनामा क्षति पुगेको छ भने करिब ४ हजार पशु चौपाया मरेका छन् ।
त्यस्तै २०७८ मा नेपालमा विपद्मा परेर ५०८ जनाको मृत्यु र ७६ जना बेपत्ता हुनुका साथै २ अर्ब ६१ करोडको आर्थिक क्षति भएको थियो । सो वर्ष विपद्का घटना ३ हजार ९१५ वटा भएको देखिन्छ ।
त्यसैगरी २०७७ सालमा ५९३ जनाले विपद्का कारण ज्यान गुमाएका थिए भने १०२ जना बेपत्ता भएका थिए । विपद्का कारण २ अर्ब २ करोड रुपैयाँको क्षति भएको थियो भने वर्षभरमा विपद्का कुल ४ हजार १५८ वटा घटना भएका थिए ।
त्यस्तै २०७६ मा ४ हजार ७६ वटा विपद्का घटनामा ४०७ जनाको मृत्यु, ४० जना बेपत्ता तथा कुल ४ अर्ब ३५ करोडको आर्थिक क्षति भएको थियो भने २०७५ सालमा ४ हजार ७२२ वटा विपद्का घटनामा परेर ८२० जनाको मृत्यु, १०४ बेपत्ता तथा ४ अर्ब ४१ करोडको क्षति पुगेको देखिन्छ ।
यी सबै तथ्यांकलाई केलाउँदा गत वैशाखअघिको अवधिसम्म गत पाँच वर्षमा विपद्का कुल २१ हजार ३२७ वटा घटनामा परेर २ हजार ८१६ जनाले ज्यान गुमाएको देखिन्छ भने ३५९ जना बेपत्ता भएका छन् ।
त्यस्तै विपद्बाट विगत पाँच वर्षमा १६ अर्ब २५ करोड आर्थिक क्षति भएको तथ्याङ्क समेतलाई हेर्दा नेपालमा विपद्हरूबाट वार्षिक औसतमा ६३० जनाभन्दा धेरै मानवीय क्षति हुने गरेको छ भने वार्षिक आर्थिक क्षति औसतमा ३ अर्ब २५ करोड रुपैयाँ छ । उल्लिखित तथ्यांकहरूले नेपालमा विपद्को सघनता तथा यसको मानवीय, भौतिक तथा आर्थिक क्षतिहरूको भयानकता प्रष्ट पार्दछ ।