गढवा गाउँपालिकालाई सेरामिकको हब बनाउन पहल सुरु
गढवा गाउँपालिकाले परम्परागत रुपमा चल्दै आएको माटाका भाँडा बनाउने व्यवसायलाई व्यवस्थित र आधुनिकीकरण गर्न पहल सुरु गरेको छ । ललितकला प्रज्ञा प्रतिष्ठानसँगको संयुक्त पहलमा परम्परागत सिपलाई आधुनिकीकरण गर्ने र भविष्यमा पालिकालाई नै सेरामिकको हब बनाउने योजना अनुसार काम सुरु गरिएको पालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए ।
ललितकला प्रज्ञा प्रतिष्ठानले पनि देशभरका विभिन्न ७ स्थानमा कलाको हब बनाउन अघि सारेको योजना अनुसार गढवा गाउँपालिकामा सेरामिकको हब बनाउने नीतिगत निर्णय गरिसकेको छ ।
त्यसको सम्भाव्यता अध्ययन गरी कार्ययोजनाको खाका सहितको प्रतिवेदन पेश गर्न गढवा गाउँपालिकाका वडा नं. ३ का वडा सदस्य आशाराम चौधरीको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिनेश्वर महतो, अग्रज कलाकार गोपाल कलाप्रेमी, गढवा गाउँपालिकाको वडा नं ६ का वडा सदस्य मानु कुमाल र वडा नं ३ का वडा सदस्य तथा कलाकार चुनुराम थारु सदस्य छन् । उक्त टोलीलाई यही साउन मसान्तभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।
समितिले प्रतिवेदन बुझाइसकेपछि गढवा गाउँपालिकाको लोककला ( खासगरी माटोका भाँडा बनाउने काम)लाई प्रवर्द्धन गर्न थप प्रक्रिया अघि बढ्ने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवम् सदस्य सचिव देवेन्द्र थुम्केलीले जानकारी दिए । थुम्केलीले अनलाइनखबरसँग भने, ‘माटाका भाँडा बनाउने परम्परागत कलालाई संरक्षण गर्ने, प्रविधिमैत्री बनाउने र त्यसलाई आर्थिक उपार्जनसँग जोड्ने लक्ष्य अनुसार गढवा गाउँपालिकालाई सेरामिकको हब बनाउने निर्णय गरेका छौं ।’
गढवा गाउँपालिकामा थारु कुमाल र पहाडे कुमालको बसोबास छ । थारु कुमालहरु मात्र माटाका भाँडा बनाउने काममा संलग्न छन् । गढवा गाउँपालिकाका खैरा, पत्रिङ्गा र गढवा गाउँका थारु कुमालहरु आफ्नो मुख्य पेशाको रुपमा माटाका भाँडा बनाउने काममा वर्षौंदेखि संलग्न छन् ।
गढवा र पत्रिङ्गाको तुलनामा खैरा गाउँ माटोका परम्परागत भाँडा बनाउने ठाउँको रुपमा अझ बढी चर्चित छ । यहाँ बनेका घैंटा, गमला, खुत्रुके, पाला लगायतका भाँडाहरु काठमाडौं, बुटवल, नेपालगञ्जका ब्यापारीहरु ट्रक लिएर खरिद गर्न आउँछन् । उनीहरुको त्यो सिपलाई आधुनिकीकरण गर्दै कप, प्लेट, घर सजावटका सामान पनि उत्पादन गर्न प्रोत्साहित गर्ने गाउँपालिकाको योजना छ ।
गढवा गाउँपालिकाका अध्यक्ष पोख्रेलले उनीहरुको परम्परागत ढंगको कामलाई आधुनिकीकरण गर्ने र सिप संरक्षण गर्दै सेरामिकको हब बनाउन लागिएको बताए । ‘उनीहरुको पेशालाई स्ट्याण्डर्ड बनाउँदै पालिकालाई नै सेरामिकको हब बनाउन ललितकला प्रज्ञा प्रतिष्ठानसँग संयुक्त पहल थालिएको हो,’ अध्यक्ष पोख्रेलले भने ।
माटाका भाँडा पोल्न परम्परागत भट्टीमा काठदाउरा र भुसको प्रयोग हुँदै आएको छ । तर काठदाउराको जोहो गर्न गाह्रो हुने र त्यसबाट वातावरण पनि प्रदूषित हुने भएपछि पहिलो चरणमा परम्परागत भट्टीको सट्टा विद्युतीय भट्टी निर्माण गरिएको छ ।
सम्भाव्यता अध्ययन समितिका संयोजक एवम् वडा नम्बर ३ का वडा सदस्य आशाराम चौधरीका अनुसार परम्परागत ढंगले माटाका भाँडा पोल्न गाह्रो भयो भनेर कुमाल समुदायले नै आधुनिकीकरण गरिदिन माग गरेका थिए । उनीहरुकै माग अनुसार पालिकाले इलेक्ट्रिक भट्टीका लागि पहल थालेको थियो । त्यसपछि प्रदेश सरकारले खैरा, गढवा र पत्रिङ्गा तीनवटै गाउँमा इलेक्ट्रिक भट्टी दिएको छ ।