माओवादीको राजनीतिक प्रतिवेदन वर्षमानले लेखे, सांगठनिक प्रतिवेदन जनार्दनले
माओवादी नेतृत्वमा आएयता सबै राजनीतिक दस्तावेज प्रचण्ड आफैं लेख्ने गर्थे । यसपल्टको बैठकमा केही नयाँ परिदृश्य देखिने छ ।
भोलि बुधबार सुरु हुने माओवादी केन्द्रको केन्द्रीय समिति बैठक मा पेश गरिने राजनीतिक र सांगठनिक प्रतिवेदनको मस्यौदा प्रचण्डले नभई उपमहासचिवहरु वर्षमान पुन र जनार्दन शर्माले लेखेका छन् ।
पार्टी स्रोतका अनुसार प्रधानमन्त्री हुँदाको व्यस्तताका कारण प्रतिवेदन लेख्नै सकस भएपछि प्रचण्डले उनीहरुलाई बोलाएर दस्तावेज तयार पार्न निर्देशन दिएका हुन् । पुन र शर्माले लेखे पनि त्यो प्रचण्डकै दस्तावेज हुनेछ । अध्यक्ष प्रचण्डले अन्तिम रूप दिएर केन्द्रीय समिति बैठकमा पेस गरिने भएको छ ।
राजनीतिक प्रतिवेदन लेखनका लागि यसअघि पटकपटक पदाधिकारी बसेर लिखित तथा मौखिक ढंगले संकलन गरिएका सुझावलाई प्रतिवेदनमा समेट्नका लागि पदाधिकारीहरूलाई जिम्मेवारी दिइएको थियो ।
राजनीतिक प्रतिवेदन लेखनका लागि पुनलाई उपाध्यक्षद्वय कृष्णबहादुर महरा, अग्नि सापकोटाले सल्लाह सुझाव दिएका छन् । त्यस्तै सांगठनिक प्रतिवेदन लेख्न शर्मालाई महासचिव देव गुरुङले साथ दिएका छन् ।
दुईवटै टोलीले अध्यक्ष प्रचण्डलाई उक्त ड्राफ्ट बुझाइ सकेका छन् । राजनीतिक प्रतिवेदनको तयारीमा काम गरेका पार्टी उपाध्यक्ष अग्नि सापकोटाले आफूहरूले संकलन भएका सुझावहरूको टिपोटलाई एकीकृत गरेर अध्यक्षलाई बुझाइसकेको जानकारी दिए । ‘हामीलाई दिइएको जिम्मेवारीअनुसार टिपोट संकलन गरेर अध्यक्षलाई बुझाइ सकेका छौँ । अध्यक्षले त्यसलाई अन्तिम रूप दिँदै हुनुहुन्छ,’ उपाध्यक्ष सापकोटाले भने ।
यस्तै संगठन विभागले पनि तयार पारेको सांगठनिक प्रतिवेदनको ड्राफ्ट अध्यक्षलाई बुझाइसकेको उपमहासचिव शर्माले अनलाइनखबरलाई जानकारी दिए । ‘संगठन विभागका तर्फबाट हामीले प्रतिवेदन तयार पारेर अध्यक्षलाई बुझाई सकेका छौँ,’ उपमहासचिव शर्माले भने ।
प्रतिवेदनको ड्राफ्ट तयार गर्ने जिम्मेवारी पाएका एक पदाधिकारीअनुसार राजनीतिक प्रतिवेदनमा समसामयिक राजनीतिक घटनाक्रमको विश्लेषण गर्नेदेखि विभिन्न राजनीतिक दलहरू सँगको एकता प्रस्ताव तथा समाजवादी मोर्चाको विषय समावेश गरिएको छ ।
यसका साथै, पार्टीको महाधिवेशन पश्चात पार्टी काममा देखिएको ढिलासुस्तीलाई उठाइएको छ भने त्यसका लागि गर्नुपर्ने कार्यसूची समेत राखिएको जनाइएको छ । विधान महाधिवेशन गर्ने र पार्टी एकतालगायत सन्दर्भलाई हेरेर विशेष महाधिवेशनको विषयमा समेट समेटिन सक्ने बताइएको छ ।
अधिकांश पदाधिकारीहरूले बैठकमा पार्टी विधि र विधानमा नचलेको भन्दै प्रश्न उठाएका छन् । त्यसलाई राजनीतिक प्रतिवेदनमा पदाधिकारीहरूले समेटेर पठाएका छन् । तर त्यसलाई अन्तिम रूप दिँदा समेटिन्छ वा समेटिन्न भन्ने राजनीतिक प्रतिवेदन सार्वजनिक भएपछि मात्रै थाहा हुनेछ ।
सांगठनिक प्रतिवेदनमा भने पार्टीका संगठन र विभागहरू आकारमा ठूला भए पनि काममा परिणाम देखिन नसकेको भन्दै त्यसको व्यवस्थापन गर्नुपर्ने विषय प्रमुख बनेको छ । जसअन्तर्गत जनवर्गिय संगठनभित्र रहेको विवाद समाधान गर्ने, चुस्तदुरुस्त बनाउने, सबैलाई जिम्मेवारी दिने, लामो समयदेखि संगठनको काम प्रभावित भएकाले सांगठिनक कामलाई अभियानका रूपमा सञ्चालन गर्नेलागयत विषय समेटिएका छन् ।