मृत्युको धराप बन्दै साहसिक पर्यटकीय गतिविधि, नियमन न सुरक्षा
बुधबार कास्कीमा क्यानोनिङ (झरना/छाँगोबाट झर्ने) खेल खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका ९ घलेलस्थित झरनामा क्यानोनिङ गर्ने क्रममा लडेर घाइते भएकी पोखरा महानगरपालिकाकी २२ वर्षीया अञ्जिता भण्डारीको निधन भएको हो ।
नेपालमा साहसिक पर्यटकीय गतिविधि गर्दा मृत्यु हुने भण्डारीमात्रै होइनन् । पछिल्लो समय नियमन र सुरक्षा मापदण्डविना नै खुलेका साहसिक पर्यटकीय गतिविधि मृत्युको धराप बन्दै गएका छन् ।
२०७९ फागुनमा सुर्खेतको वीरेन्द्रनगरमा फनपार्क भित्र पिङ चुडिँदा एक महिलाको ज्यान गएको थियो । वीरेन्द्रनगर– ४ स्थित काँक्रेबिहार फनपार्क एण्ड रिसोर्टद्वारा सञ्चालित ट्री हाउस फनपार्कको पिङ चुडिँएर भएको दुर्घटनामा ५० वर्षिया एक महिलाको ज्यान गएको थियो । यस घटनामा थप दुई जना घाइते भएका थिए । गत वर्ष नै पोखरामा रोटेपिङ दुर्घटनामा पर्दा चार जना घाइते भएका थिए । पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा यस्तो दुर्घटना भएको हो ।
फागुन, २०७७ मा धुलिखेल नगरपालिकास्थित अल्टिमेट हिमालय मोटरल्याण्डमा कार रेसिङको क्रममा भएको दुर्घटनामा एक जनाको मृत्यु भयो । साहसिक र मनोरन्जनात्मक भनेर खेलाइएको कार दुर्घटनामा १६ वर्षीय एक किशोरको ज्यान गएको थियो ।
असोज २०७९ मा राष्ट्रिय खेलकुदका दौरान भएको पछिल्लो प्याराग्लाइडिङ दुर्घटनामा नेपाली सेनाका खेलाडी निमिस थापाको निधन भयो । त्यो दुर्घटना अगाडी नेपालमा भएका प्याराग्लाइडिङ दुर्घटनामा १६ जनाको मृत्यु भइसकेको थियो ।
नेपालमा व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान सुरुवात भएको डेढ दशकको इतिहासमा १७ वटा ठूला दुर्घटना भइसकेका छन् । पोखरामा प्याराग्लाइडिङसँगै अल्ट्रालाइट समेत धेरै पटक दुर्घटनामा परिसकेको छ ।
२०७५ सालमा सुनसरीको चतरामा र्याफ्टिङ दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको थियो । सोही वर्ष कर्णाली नदीमा र्याफ्टिङ दुर्घटनामा एक अष्ट्रेलियन नागरिकको मृत्यु भएको थियो । त्यसअगाडि पनि नेपालका नदीहरुमा नियमित दुर्घटना भइरहेका थिए । त्यसयता नदीमा मृत्यु हुने गरी र्याफ्टिङ बोट दुर्घटनामा परेको छैन ।
असोज २०७९ मा विश्वचर्चित स्की खेलाडी ४९ वर्षिय हिलारी नेल्सनको मनास्लु हिमालमा स्की खेल्ने क्रममा मृत्यु भयो । उनी हिमाल आरोहण सम्पन्न गरी स्की गर्दै फर्कने क्रममा १० असोजमा बेपत्ता भएकी थिइन् । त्यसको दुई दिनपछि उनको शव भेटिएको थियो ।
पछिल्लो समय नेपालमा हिमाल आरोहण पनि धेरै नै जोखिमपूर्ण बनेको छ । यस वर्ष वसन्त ऋतुमा पर्वतारोहणका दौरान सगरमाथामा मात्र १७ जना विलय (मृत्यु/बेपत्ता) भए । यो वर्ष कुनै ठूलो प्राकृतिक विपत्तिबिना नै भएको यो ठूलो मानवीय क्षति हो । १३ चैतका दिन तीन जना आइसफल डाक्टरको मृत्यु भएयता अन्तिम पटक ११ जेठमा क्यानडाका पेनुस अल्बर्टिन स्वार्टको सगरमाथामा ज्यान गयो ।
यी प्रतिनिधिमूलक घटना हुन्, जसले नेपालमा साहसिक पर्यटकीय तथा मनोरन्जनात्मक गतिविधि असुरक्षित बन्दै गएको देखाउँछ । स्थानीय तथा संघीय सरकारको कमजोर नियमनको फाइदा उठाउँदै जथाभावी मापदण्डविपरीत साहसिक पर्यटकीय गतिविधि हुने स्थल बनाउने र त्यसमा पर्याप्त सुरक्षा प्रवन्ध गर्न नसक्दा यस्ता खाले दुर्घटना बढ्न थालेको सरोकारवाला बताउँछन् । यसले नेपालकै छविमा नकारात्मक प्रभाव पर्ने चिन्ता पनि उनीहरुको छ ।