आफन्तबाटै यौन दुर्व्यवहार बढ्दो
विराटनगरकी पाँच वर्षीय महिमा अधिकारी (नाम परिवर्तन)लाई आफ्नै बुबाले यौन दुर्व्यवहार गरे । आमा घरमा नभएको समयमा उनी बुबाबाट यौन दुर्व्यवहारको सिकार भएकी थिइन् । पछि उनले आमालाई घटनाबारे सुनाइन् ।
त्यसपछि महिमाको स्वास्थ्य उपचार, मनोपरामर्श र कानुनी उपचारका लागि सहयोग लिन महिमालाई लिएरै उनकी आमा काठमाडौँ आइन् । छोरीलाई लिएर परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी)मा उनी पुगिन् ।
महिमा त एक उदाहरण मात्र हुन्, उनीजस्ता कयौँ बालिका तथा किशोरी आफन्तबाटै यौनजन्य दुर्व्यवहारमा पर्ने गरेका छन् । ओसीएमसीमा महिला, बालिकामात्रै नभएर किशोर तथा पुरुष पनि यौनशोषणमा परेको भन्दै प्रसूति गृहको ओसीएमसीमा उपचार, परामर्श र कानुनी उपचारका लागि आउने गरेका छन् ।
ओसीएमसीमा एचआईभी/एड्स लगायतका यौनजन्य रोगको सङ्क्रमण भयो कि भएन, यौन दुर्व्यवहार गर्नेलाई कसरी कानुनी कठघरामा उभ्याउन सकिन्छ भन्नेजस्ता उपचार÷परामर्श प्रदान गरिँदै आएको छ ।
लैङ्गिक तथा यौन हिंसाबाट प्रभावित, पीडित भई शारीरिक, मानसिक, सामाजिक र आर्थिक रूपमा प्रभावित भएका बालबालिका, महिला, पुरुष र तेस्रो लिङ्गी ओसीएमसीमा सेवा लिन पुग्ने गर्छन् ।
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको ओसीएमसीेमा गत आर्थिक वर्षमा मात्रै ६६६ जनाले सेवा लिन पुगेको इन्चार्ज सुकुमाया तामाङले बताइन् ।
पीडितलाई उपचार, मनोवैज्ञानिक परामर्श, कानुनी लडाइँमा संघर्ष गरे पनि अन्तिममा पीडक र पीडित मिल्ने प्रवृत्तिले समस्या बनाएको उनको भनाइ छ । ‘पीडितको न्यायका लागि दिनरात नभनी मेहनत गर्छौँ,’ उनले भनिन्, ‘पछि पीडित नै होस्टाइल भइदिन्छन् ।’
हाडनाता करणी, साना बालिकामाथि यौन दुर्व्यवहार, लैङ्गिक हिंसा झेलेका महिला तथा बालबालिकाहरू ओसीएमसीमा पुगेपछि उपचार, परामर्श गरी कानुनी लडाइँका लागि सुरुमा तयार हुन्छन् तर, पीडकसँग मिलेर पछि आफ्नो बयान फेर्दा पीडकलाई कारबाहीको दायरामा ल्याउन भने कठिन हुने गरेको तामाङले बताइन् ।
करकाप तथा दबाबमा होस्टाइल भएकाहरू पछि फेरि सोही पीडकबाट यौन दुर्व्यवहारमा पर्ने सम्भावना रहने उनको भनाइ छ । पीडितले नै बयान फेरेको अवस्थामा प्रहरीले मुद्दा अघि बढाउन नमान्ने उनी बताउँछिन् । तर पछि फेरि पीडकबाट दुर्व्यवहार भएमा वा केही अन्तरालमा आफ्नो विचार परिवर्तन भएर पीडकमाथि मुद्दा प्रक्रिया अघि बढाउने निधोमा पुगेका सहज होस् भन्नका लागि हरेक पीडितको डीएनएलाई अस्पतालमै सुरक्षित राख्ने गरिएको पनि तामाङले बताइन् ।
तत्काल पुलिस केस गर्न मानेनन् र पछि पुलिस केस गर्छु भन्दै आउनेहरूलाई त्यसरी राखिएको डीएनए एउटा बलियो प्रमाण हुने उनको भनाइ छ । यसरी एक वर्षसम्म हरेक पीडितको डीएनए आफूहरूले सुरक्षित राख्ने गरेको उनले बताइन् ।
हालसम्म ६३९ वटा डीएनए नमुना संकलन गरिएको र विगत ६ महिनामा १८ वटा डीएनए परीक्षणका लागि नमुना राखिएको इन्चार्ज तामाङको भनाइ छ ।