कलिला मुटु छाम्ने पहिलो डाक्टर
यी कलिला मुटुहरू पनि किन रोगी हुँदा हुन् ? ‘बालरोग’ को निदान खोज्न ठूल्ठूला डाक्टरी किताब पढी भ्याएकी उर्मिला शाक्यलाई कुनै बेला लाग्थ्यो– ‘कलिला यी मुटुलाई कसरी स्याहार्नु !’
डाक्टर बनेपछि प्रसूति गृह र कान्ति बाल अस्पतालमा जागिर खाँदा उनले धेरै त्यस्ता बालबालिका देखिन्, जसको कलिलो मुटुमै रोग लागेको हुन्थ्यो ।
‘बच्चाको मुटुमा पनि रोग लाग्छ र…?’ कुनै बेला आफैंलाई झक्झक्याएको यो प्रश्नले उनलाई ‘बाल मुटुरोग विशेषज्ञ’ भइआउँदा पछिसम्मै पछ्याइरह्यो ।
‘बच्चाको मुटु र ठूला मानिसको मुटुमा फरक हुन्छ ?’
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कोठा नम्बर १६१ मा केहीबेर गफिएकी उनले मन्द मुस्कानमा भनिन्, ‘मुटु त सबको एउटै हुन्छ । बनावट एउटै हुन्छ । तर, उमेरसँगै मुटुरोगको प्रकृति फरक–फरक हुन्छ । मन ठूलो हुनु राम्रो हो । तर, मुटु ठूलो हुनु राम्रो होइन ।’
बालबालिकामा पनि मुटुरोग हुन्छ र डाक्टरसा’ब ? डाक्टरी जीवनको सुरुवाती दिनमा उनलाई अभिभावकले सोध्ने सबैभन्दा बढी प्रश्न नै यही हुन्थ्यो ।
तर, अहिले परिवर्तन आएको छ । अभिभावकलाई धेरै–थोरै आफ्ना बालबालिकाको स्वास्थ्यप्रति चासो बढ्न थालेको छ ।
बाल मुटुरोग विशेषज्ञ भएर सरकारी सेवामा छिरेको पनि दुई दशक नाघिसकेको छ । यसअवधिमा उनले लाखौं कलिला मुटु छामिन् । ती अबोध बालबालिकाको मुटुलाई फक्राइन् । र, अबको जीवन पनि त्यही ‘कलिला’ मुटुलाई जोगाइराख्ने मनसुवा छ ।
डा. शाक्य, ‘कलिला’ बालबालिकाको मुटु छाम्ने पहिलो नेपाली ‘डाक्टर’ हुन् । हुनतः अन्य डाक्टरले पनि मुटु सम्बन्धी बालबालिकाका रोग पहिचान तथा उपचार भने नगरेका होइनन् । तर, विशेषज्ञताको हिसाबले डा. शाक्य नेपालको पहिलो ‘बाल मुटुरोग विशेषज्ञ’ हुन् ।
काठमाडौंको इटुम्बहालमा जन्मिएकी शाक्यले कान्ति ईश्वरी माध्यमिक विद्यालयबाट एसएलसी पास गरिन् । अमृत साइन्स कलेजबाट आइएस्सी । त्यसपछि, सन् १९९२ मा सरकारी छात्रवृत्तिमा चीनको बेइजिङ मेडिकल युनिभर्सिटीबाट एमबीबीएसको अध्ययन पूरा भयो ।
अनि, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा तीन वर्ष काम गरिन् । त्यहीं कामको दौरानमा नवजात शिशुप्रतिको लगाव बढ्यो ।
अबोध बालबालिका । न राम्रोसँग बोल्न सक्छन् न आफूलाई परेको समस्या व्यक्त गर्न नै । यस्ता–यस्तै दृश्यले शाक्यको मन चसक्क हुन्थ्यो । सोचमग्न हुन्थिन् । र, बालबालिकाकै सेवामा जीवन व्यतीत गर्ने कल्पना गर्थिन् ।
त्यसपछि, कान्ति बाल अस्पतालमा काम गर्ने मौका मिल्यो । देशभरका बालबालिकाले उपचारको क्रममा भोग्नु परेको दर्दनाक कहानी नजिकैबाट नियालिन् । कतिपय बालबालिकाको रोग नै पहिचान नहुने । भएपनि, त्यस बेला उपचार गर्ने अभिभावकमा सामथ्र्य नहुने । अधिकांश बालबालिकाको अकालमै मृत्यु भएका घटनाले दिनदिनै पिरोल्थ्यो ।
कान्तिमा आएका बालबालिकामा मुटुको समस्या छ भन्ने थाहा हुन्थ्यो । तर, विडम्बना बाल मुटुरोगको उपचार गर्न न विशेषज्ञ डाक्टर थिए, न उपचार प्रणाली नै ।
कान्तिमा काम गरेको ६ महिना पुग्दानपुग्दै मास्टर (एमडी) को लागि चीनको बेइजिङ मेडिकल युनिभर्सिटीमा छात्रवृत्तिमा अध्ययन गर्ने अवसर जुर्यो ।
प्रसूति गृह र कान्ति बाल अस्पतालमा बालबालिकाले उपचारमा भोग्नुपरेको कष्टकर बाध्यतालाई सम्झँदै उनले निधो गर्न्,ि नवजात वा बालमुटु विषयमध्ये एकमा ‘एमडी’ गर्छु ।
युनिभर्सिटीमा नवजात शिशुको भर्ना कोटा पूरा भएकाले अध्ययन गर्न जुर्यो बालमुटुमै । सन् १९९९ मा ‘एमडी’ अध्ययन सकियो । तर, नेपालमा बालमुटुको सेवा–विस्तार गर्नमा आफूलाई अझै निखार्नु थियो ।
त्यतिबेला नेपालमा बाल मुटुरोग सेवा नपाएर सयौं बालबालिकाले मृत्युवरण गरेका घटना मन–मस्तिष्कमा घुमिरहेको हुन्थ्यो । र, त्यहाँको प्रोफेसरलाई प्रस्ताव राखिन्, बालमुटुमा थप ‘फेलोसिप’ गर्छु ।
उनी जति सरल छिन्, त्यति नै सहज पनि । अनि आफ्नो काममा त्यति नै समर्पित र लगनशील । जसका कारण उनको त्यो प्रस्ताव सहज स्वीकार भयो ।
९ महिनाको बालमुटुमा थप फेलोसिप गरेपछि चीनमा काम गर्न अफर नआएको पनि होइन । तर, उनले बालमुटुको सेवालाई विस्तार गर्ने सोचका साथ नेपाल फर्किन् ।
‘आफ्नो देशमा नभएको सेवा विस्तार गर्न विदेश गएकी थिएँ । यदि त्यहीं बसेको भए बालबालिकाको रोग नै पहिचान नभएर मर्नुपथ्र्यो’ ती दिन सम्झँदै भन्छिन्, ‘बालमुटुमा एउटा जग बसेको छ । अब यसलाई अझै फैलाउन जरूरी छ ।’
चीनबाट फर्किएपछि कान्तिमै पुनः तीन वर्ष काम गरिन् । त्यसबेला शहीद गंगालाल अस्पतालको स्वास्थ्य सेवामा विस्तारै जग बस्दैथियो । उनको शहीद गंगालालसँग मित्रता २०६० सालदेखि गाँसिन पुग्यो ।