दोश्रो साक चेस च्याम्पियनसिप भोलिदेखि, ग्राण्डमास्टर दास पनि सहभागी हुने
काठमाडौं । नेपाल बुद्धिचाल महासंघको आयोजनमा दोश्रो साक चेस च्याम्पियनसिप २०२३ भोलिदेखि सुरु हुने भएको छ ।
असार ४ गते सम्म गोदावरीस्थित होटेल भ्यू भृकुटीमा पूर्ण आवासीय सुविधासहित हुने प्रतियोगितामा दक्षिण एसियाका महिला र पुरुष गरी २० खेलाडीको सहभागिता रहने छ ।
प्रतियोगिताको बारेमा सोमबार आयोजित पत्रकार सम्मेलनमा महिला र पुरुष गरी दुई स्वर्ण पदकका लागि दक्षिण एशियाका आयोजक नेपाल सहित भारत, बंगलादेश, पाकिस्तान, मालदिभ्स, श्रीलंका, भुटानका १० महिला र १० पुरुष खेलाडीहरुले राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्ने जानकारी दिइयो ।
दक्षिण एशियाका प्रत्येक राष्ट्रबाट १ महिला र १ पुरुष खेलाडी, डिफेन्डिङ्ग च्याम्पियन १ महिला र १ पुरुष तथा आयोजक नेपालबाट थप १ महिला र १ पुरुष खेलाडी गरि १०÷१० खेलाडीहरुले स्वर्ण पदकका लागी प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।
नेपालबाट पुरुष तर्फ वर्तमान च्याम्पियन फिडेमास्टर रुपेश जयसवाल र रनरअप सुरवीर लामा तथा महिला तर्फ राष्ट्रिय च्याम्पियन फिडेमास्टर सुजना लोहनी र रनरअप सुशीला गुरुङ्गले प्रतिस्पर्धा गर्ने छन् । यस्तै अफगानिस्तानले च्याम्पियनसिपमा सहभागिता नजनाउने भए पश्चात साउथ एशियन चेस काउन्सिलका अध्यक्षको परामर्शमा थप एक÷एक नेपाली खेलाडीले उक्त च्याम्पियनसिपमा सहभागिता जनाउन पाउने भएको नेपाल बुद्धिचाल महासंघका अध्यक्ष बिदुर गौतमले पत्रकार सम्मेलनमा जानकारी गराए ।
पहिलो संस्करणका पुरुष तर्फका विजेता भारतीय ईन्टरनेशनल मास्टर नुवइरशशाह सेख र महिला तर्फकी विजेता बंगलादेशकी वुमन ईन्टरनेशनल मास्टर सुल्तान सरमीन सिरिनले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने छन् । यस्तै ग्रान्डमास्टर सायनतन दासले पनि यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।