प्रकृतिको निर्मम दोहन रोक्न आवश्यक छ : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिको निर्मम दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधतामा ह्रास र बढ्दो प्रदूषण चुनौती बनेको बताएका छन् ।
सोमबार विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा राखेका विषय र गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्न दिवसले थप उत्साह प्रदान गर्ने बताएका छन् ।
उनले भनेको छन्,‘हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउने प्रण गर्नुपर्दछ । विकासलाई वातावरणमैत्री बनाउन आवश्यक छ।’