सिरियाले राहत र उद्धारका लागि गुहार माग्दै
एक हप्ता अगाडि टर्की केन्द्रबिन्दु भएर गएको भूकम्पले छिमेकी सिरियामा पनि असर गर्यो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सिरियामा साढे ६ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । तर, सिरियाले विश्व समुदायबाट राहत तथा उद्धारका लागि पर्याप्त सहयोग पाइरहेको छैन । राहत तथा उद्धार सामग्री नहुँदा भूकम्प पीडितको उद्धारमा समस्या भएको छ । सिरियाका भूकम्प पीडितहरु स्वास्थ्योपचार, राहत तथा खोजिकार्यको पखाईमा छन् ।
समाचार संस्था रोयटर्सका अनुसार सिरियामा भूकम्प पीडितहरु खाली हातले नै भग्नावशेष पन्छाउँदै च्यापिएका मान्छेको खोजी गरिरहेका छन् । भग्नावशेष पन्छाउने पर्याप्त सामान नहुँदा उद्धारकर्मीले समेत काम गर्न सकिरहेका छैनन् ।
‘हामी सहयोगहिन भएका छौं,’ उद्धारमा खटिएका २८ वर्षे अलि ओविड भन्छन्, ‘बाह्य सहयोग नआएसम्म हामी केही गर्न सक्ने अवस्थामा छैनौं । हामीसँग पर्याप्त सामान छैनन् ।’