प्रजातन्त्र दिवसको उपलक्ष्यमा सांसद अरूण चौधरीलाई रिहा
कैलाली कारागारमा रहेका सांसद अरूण चौधरी रिहा भएका छन्। प्रजातन्त्र दिवसको उपलक्ष्यमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय मिनाहा भएपछि चौधरी रिहा भएका हुन्। उनी कैलाली जिल्ला कारागारबाट आइतबार बिहान रिहा भएको हो ।
राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी विभिन्न ३ सय ९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको जनाएको थियो। सोही अनुसार सांसद चौधरीसहित कैलाली कारागारमा रहेका अन्य १४ जनाको पनि कैद मिनाह भएको छ।
कारागारबाट निस्किएपछि चौधरीलाई नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसहित नेता, कार्यकर्ताले उनलाई फूलमाला लगाएर स्वागत गरेका थिए।