रास्वपालाई पुनः सरकारमा फर्काउन छलफल सुरु
सरकारबाट बाहिरिएको एक साता नबित्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पुनः सरकारमा सहभागी गराउन छलफल चलेको छ । सर्वोच्च अदालतले सभापति रवि लामिछानेको नागरिकता अवैध ठहर गरेपछिको घटनाक्रमका कारण रास्वपा सरकारबाट बाहिरिएको थियो ।
नागरिकता कायम गराएर पार्टी सभापति बनेका लामिछाने गैरसांसदको रुपमा गृह मन्त्रालयमा फर्किन चाहे पनि प्रधानमन्त्री प्रचण्डले सकारात्मक जवाफ नदिएपछि उनी रोकिएका थिए । त्यसपछि पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राखेर सरकारबाट बाहिरिने निर्णय गरेको थियो । तर, सरकारबाट बाहिरिएको एक साता नबित्दै सो पार्टीलाई सरकारमा सहभागी गराउनेबारे छलफल सुरु भएको हो ।
शुक्रवार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा एमालेका अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउन प्रस्ताव नै गरेको स्रोतले जनाएको छ । बालुवाटार स्रोतका अनुसार खाली रहेको मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरूलाई ल्याउन ओलीले बैठकमा प्रस्ताव गरेका हुन् ।