परराष्ट्रमन्त्रीले संसद्लाई जानकारी गराइन् जेनेभा भ्रमण रोकिएको
परराष्ट्रमन्त्री विमला राई पौडेलले आफ्नो जेनेभा भ्रमण प्रधानमन्त्रीको निर्देशनमा रोकिएकोबारे राष्ट्रियसभा र संसद्लाई जानकारी गराएकी छिन् । कार्यकारीले नेतृत्व गर्नुपर्ने भ्रमणमा बाहिरको व्यक्तिले गरेको भन्दै त्यसले पार्ने असरबारे संसद्ले प्रश्न उठाउनुपर्ने माग गरिन् ।
आफ्नो भ्रमण रोकिएपछि राष्ट्रियसभामा विशेष सम्बोधन गर्दै मन्त्री पौडेलले राजनीतिक कारणले आफ्नो भ्रमण रोकिएको र त्यसले अन्तर्राष्ट्रिय सम्बन्धमा कस्तो खालको असर पर्ने भन्ने समयले बताउने बताइन् ।
उनी मानवअधिकार परिषद्को ५२ औं सभामा भाग लिनका लागि जेनेभा जान लागेकी थिइन् । तर, अन्तिम समयमा आएर प्रधानमन्त्रीले उनको भ्रमण रोकेका थिए । आजबाट सुरू हुने सभामा भोलि नेपालको प्रस्तुति रहनेछ । मन्त्री पौडेलका अनुसार ४ सदस्यीय टोली जान खोजेकोमा प्रधानमन्त्रीको निर्देशनमा विज्ञको रूपमा पूर्व कानूनमन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) लाई पनि समावेश गरिएको थियो । र त्यसपछि ४ जनाको ठाउँमा ५ जान जाने निर्णय भएको थियो ।
उनी नगएपछि विज्ञको रूपमा टोलीमा समावेश गरिएका कोइरालाको नेतृत्वमा ३ सदस्यीय टोली जेनेभा गएको छ ।