३ दिनपछि भेटियो चोभारमा खसेको कारका बेपत्ता पुरूषको शव
सोमबार साँझ बागमती किनारमा बा ५ च ५६५४ नम्बरको कार चोभारको पुलबाट बागमती नदीमा खस्दा बेपत्ता भएका पुरूषको शव फेला परेको छ।
बिहीबार दिउँसो कार दुर्घटनास्थल भन्दा अन्दाजी सय मिटर तल पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए।
अहिले शवलाई पानीबाट निकालेर मुचुल्काको काम गरिरहेको छ। कारमा दक्षिणकाली नगरपालिका-१ चाल्नाखेल बस्ने ४७ वर्षीय राजकुमार खत्री र उनकी श्रीमती अम्बिका लामिछाने खत्री सवार थिए।
उक्त कार खोकना फास्ट ट्र्याक तर्फबाट मुख्य सडकमा निस्किने क्रममा पुलमाथिबाट बागमती नदी किनारमा खसेको थियो।दुर्घटना भएपछि स्थानीयले देखेर कारमा रहेकी अम्बिकाको उद्धार गरी बल्खुस्थित बयोधा अस्पताल पुर्याएको थियो। उनलाई अहिले थप उपचारको लागि ट्रमा सेन्टरमा पठाएको छ।
बेपत्ता भएका राजकुमारको खोजी गर्न प्रहरीको विपद् व्यवस्थापन, सशस्त्र प्रहरी र प्रहरी प्रभाग भैसेपाटीको टोली खटिएको थियो। प्रहरीले र्याफ्टिङ, गोताखोरले समेत खोजी गरी शव फेला पारेको हो।