गठबन्धनले सजिलै प्रधानमन्त्री बनाउँछ: प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र छलफल गरेर प्रधानमन्त्री चयन गरिने बताएका छन्।
आज गृहजिल्ला चितवन पुगेका प्रचण्डले को प्रधानमन्त्री बन्ने भन्नेबारे गठबन्धनमा छलफल भइनसकेको बताए।
‘देशको नेतृत्व गर्ने अवसर पायो भने जिम्मेवारी लिने कुरा त मैले गरेको छु। तर तपाईंहरूले सुनेजस्तो प्रधानमन्त्रीमा दाबी भनेर गठबन्धनभित्र औपचारिक रूपमा कुरा सुरू भएको छैन,’ प्रचण्डले भने, ‘को प्रधानमन्त्री बन्ने गठबन्धनबाट सजिलै निर्णय हुन्छ, अहिले छलफल भएको छैन।’
माओवादीले नेकपा एमालेसँग गठबन्धन गर्न लागेको हो भन्ने प्रश्नमा प्रचण्डले त्यस्तो नभएको प्रतिक्रिया दिए।
‘जसरी प्रचार भएको छ त्यस्तो स्थिति होइन। स्वभाविक रूपले निर्वाचनपछि सबै राजनीतिक दलका बीचमा छलफल चलेको छ। नयाँ आएका पार्टीहरूसँग पनि छलफल चलिराखेको छ,’ उनले भने, ‘मैले सधैं भनेको छु, प्रधानमन्त्रीका निम्ति सबै चिज दाउमा लगाउने गरेको छैन।’
उनले बरू विगतमा आफूले अरूलाई प्रधानमन्त्री प्रस्ताव गर्दै आएको बताएका थिए।
कांग्रेस र एमालेबीच कुरा भइरहेको छ। कुरा हुने कुराले नै टुंगो र निष्कर्षमा पुग्यो भन्न हुन्न। गठबन्धन नै कायम रहन्छ,’ उनले भने, ‘बाहिर आएजस्तो कसैसँग औपचारिक र आधिकारिक कुरा भएको छैन।’
राष्ट्रपति कसलाई बनाउने भन्नेबारे पनि गठबन्धनभित्र छलफल नभएको उनले बताए। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत पद प्याकेजमै सहमति गरिने उनले बताए। गठबन्धन गर्दा प्रधानमन्त्री आलोपालो गर्ने विषयमा भने कुराकानी भएको उनले बताए।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार रेशम चौधरीसँग पनि आफूले भेटेको उनले बताए। उनले पुस १० भित्र नयाँ सरकार बन्ने पनि बताए।